काठमाडौं, १ फागुन । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध दिवसमा पूर्व एमालेका तर्फबाट शीर्ष नेताहरुको उपस्थिती नभएकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।
नेकपाले मनाएको जनयुद्ध दिवसमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने सहभागि थिएनन् । पूर्व एमालेकोतर्फबाट हालको नेकपाका सचिवालयका महासचिव विष्णु पौडेल दाहालको दायाँतर्फ बसेका थिए भने संसदीय दलका उपनेता सुवास नेम्वाङ बायाँतर्फ बसेका थिए ।
कार्यक्रममा नेकपाका शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतको अनुपस्थितीले पार्टी एकता अझै मजबुत नभएको संकेत गरेको छ । बामदेव गौतम भने झुलुक्क पुगेर फर्किए, मञ्चमै पुगेनन् ।
विगतमा तत्कालिन माओवादीले गरेको जनयुद्धलाई लामो समयसम्म आलोचना गर्दै आएका पूर्व एमालेका नेताहरु पार्टी एकता भएपछि त्यस विषयमा बोल्नै छाडेका छन् ।
आजको कार्यक्रममा दाहालले तत्कालिन एमालेका नेता मदन भण्डारीलाई भने सम्झिए । दाहालले मदन भण्डारीको स्मृति दिवसका दिन पार्टी एकता गरेर उनलाई सम्मान गरिएको स्मरण गर्दै आजको जनयुद्ध दिवसमा पूर्व एमालेका नेताहरुको सहभागिता कम भएकोप्रति अप्रत्यक्ष रुपमा असन्तुष्टी व्यक्त गरे ।
तस्विर : मुकुन्द कालिकोटे