Logo

‘सरकारले काम गर्न सकेन’



बनेपा,३ फागुन । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय सरकारले बनाउनुपर्ने आवश्यक कानूनहरु नबनाएकाले सङ्घ, प्रदेश र स्थानीय सरकार राम्रोसँग सञ्चालन गर्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाल तरुण दल काठमाडौँ महानगर समितिले काभ्रेपलाञ्चोकको बनेपामा आजबाट आयोजित दुईदिने ‘नेतृत्व विकास एवं क्षमता अभिवृद्धि’ प्रशिक्षण कार्यक्रममा नेता सिंहले कानून, विधि र प्रक्रियाअनुसार सरकार अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले तरुणलाई आफैँले क्षमतावान् भएर अगाडि बढ्न र विकास हुँदै आएको सूचना प्रविधिका बारेमा क्षमता विकास गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले समाजमा देखिएको अन्याय, अत्याचार र भ्रष्टाचाकरो विरुद्धमा लड्नका लागि तरुण दलका नेता कार्यकर्तालाई तयार भएर बस्न निर्देशन दिनुभयो । काङ्ग्रेसका नेता धनराज गुरुङले समृद्धिका लागि धरै दिनदेखि तड्पिरहेको भए पनि त्यो दिन अझै प्राप्त गर्न नसक्ने भएकाले त्यसतर्फ युवा नै सचेत भएर लड्नुपर्ने बेला आएको र त्यसको नेतृत्व तरुण दलले लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तरुण दल काठमाडौँ महानगर समितिले आयोजना गरेको नेतृत्व विकास एवं क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा महानगरका ३२ वटा वडाका तरुण दलका अध्यक्ष र सचिवको उपस्थिति रहेको आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने प्रशिक्षणमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुङले प्रशिक्षण दिने आयोजकले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्