काठमाडौं, ६ फागुन । भारतको जम्मू–कश्मीरमा चरपन्थीले गरेको आक्रमणबारे नेपाल सरकारले गरेको निन्दा तथा जारी गरेको विज्ञप्ती पर्याप्त नभएको भन्दै भारतीय अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग त्यति खुशी छैनन् ।
उक्त आक्रमणलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गर्दै जम्मू कश्मीरमा भएको घट्नाप्रति दुःख व्यक्त त गरे । तर, भारतले ओलीबाट दुःख व्यक्त मात्रै नभएर घट्नाको कडा निन्दा र आतंकवादविरुद्धको अभियानमा भारतलाई दह«ो साथ दिने अपेक्षा गरेको थियो । नेपालले अत्यन्तै नरम विज्ञप्ती जारी गरेको भारतीय पक्षको बुझाई रहेको छ ।
टेलिफोन वार्तामा भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षाबलमाथि भएको हमलाका बारेमा प्रधानमन्त्री ओलीले मोदीसँगको संवादमा आतंकवादको विरुद्धमा नेपाल सधैँ रहेको बताएका थिए । प्रधानमनत्री ओलीले आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहेको मोदीलाई बताए । उता सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले कश्मीर घट्नाको भर्तसना गर्दै मृतक परिवारमा समवेदना दिएको बताएका छन् ।
K P Sharma Oli
@kpsharmaoli
I called Prime Minister Modi ji this evening and condemned terrorist attack in Jammu & Kashmir today and also conveyed our heartfelt condolenses and sympathies to the families of the victims.
भारतको जम्मू–कश्मीरमा चरपन्थीले गरेको आक्रमणमा ४६ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको छ । जम्मू–कश्मीरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगर–जम्मू राजमार्गमा सीआरपीएफका जवान सवार गाडीमा आक्रमण भएको थियो ।
आक्रमणमा संलग्न आतंककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित कश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशकयताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ ।
छुट्टी मनाएर काममा फर्कंदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी–साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । स्थानीय सन्चारमाध्यमकाअनुसार यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । सैनिक सवार साधनमाथि स्थानीय लडाकू आदिल अहमदले आत्मघाती आक्रमण गरेको पनि बताइएको छ ।
सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि कश्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच कश्मिरको विषयलाई लिएर तीनपटक युद्ध भइसकेको छ । मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतंककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ ।
भारतीय प्रधानमन्त्री मोदीले आतंककारी समूह र उनका मालिकहरुले ठूलो गल्ती गरेका र यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिईसकेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकपछि भारतीय प्रधानमन्त्री मोदीले उक्त कुरा बताएका थिए । तर, उनले के कारबाही गर्ने भन्नेबारेमा केही पनि सार्वजनिक गरेका छैनन् ।
‘हाम्रा छिमेकी मुलुकले हाम्रो देशमा यस्ता घृणित कार्य र छलकपटमार्फत् अस्थिरता सिर्जना गर्दछु भन्ने सोचेको भए त्यो उनीहरुको दुःस्वप्नमात्र हो । तिनीहरु कहिल्यै सफल हुने छैनन्’–प्रधानमन्त्री मोदीले भनेका थिए । वित्तमन्त्री अरुण जेट्लीलेसमेत यस आक्रमणमा पाकिस्तानको संलग्नता रहेकामा कुनै आशंका नरहेको बताईसकेका छन् ।
उनले पाकिस्तानलाई अन्तर्रा्ष्ट्रिय समुदायबाट पूर्णरुपमा अलग्याउन भारतले सबै किसिमका प्रयत्न गर्ने पनि घोषणा गरिसकेका छन् । पाकिस्तानले भने भारतको दाबी असत्य रहेको जनाएको छ ।
‘भारतीय सन्चारमाध्यम र सरकारले कश्मिर आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भनी गरिएको दाबी असत्य छ र कुनै किसिमको अनुसन्धानबेगर पाकिस्तानविरुद्ध भारतले आरोप लगाउनु दुःखद हो’–पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्तराज्य अमेरिकाले पनि कश्मिर घटनाको भर्त्सना गर्दै सबै मुलुकले ‘आतंककारीहरुलाई सुरक्षित स्थान उपलब्ध गराउने र मद्दत गर्ने कार्यहरु बन्द गर्न’ आग्रह गरेको छ ।
केन्द्रीय प्रहरी बल (सीआरपीएफ)का जवान बोकेका दुईओटा नीला बस आक्रमणको निशानामा परेका थिए । विस्फोटक पदार्थले भरिएको भ्यानले गरिएको आत्मघाती आक्रमणको आवाज धेरै माइल टाढासम्म सुनिएको थियो ।