Logo

जुम्ला-डोल्पा जोड्ने पक्की पुल वर्षौँदेखि अलपत्र



सिञ्जा, १२ फागुन : जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा छ । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ ।

६० मिटर लम्बाइ रहेको उक्त पुल विसं २०६८ असार १५ बाट निर्माणकार्य थालनी गरिएको थियो । जुम्ला हँुदै डोल्पा जोड्ने दाँनसाघु पक्की पुलमा केन्द्रीय सरकारले करोडौँ बजेट दियो । तर, कहिले ठेकेदारको लापरवाही, कहिले प्राविधिक स्टिमेटको कमजोरी, कहिले चिसोमा सिमेन्टको काम नहुने भन्दै, सात वर्ष बितिसक्दासमेत तीन स्ल्याब मात्रै हालिएको छ भने अझै एउटा हाल्न बाँकी नै छ ।

पुल निर्माणका लागि विभिन्न चरणमा भएका सम्झौताबाट पनि यसले पूर्णता पाउन सकेन । विसं २०६८ पछि पुनः २०७१ असार मसान्तसम्म सम्पन्न गर्ने ठेकेदारसँग सम्झौता गरियो । तर, दोस्रो सम्झौता गरेको चार वर्ष बितिसक्दा पनि पुल अलपत्र अवस्थामै छ ।

विसं २०७२ मा तत्कालीन प्रमुख इञ्जिनीयर हरिप्रसाद शर्माले उक्त पुलको डिजाइन फेल भएको जनाएपछि निर्माणकार्य बीचमै अवरोध भयो । पुल निर्माण कम्पनीका एसबीए बन्धन भगवती पृथ्वी जेभी बत्तीसपुलती काठमाडौँका प्रोपाइटर तारासिंह कठायतले भन्नुभयो, “प्राविधिकको कमजोरीका कारण पुल निर्माण ढिला भयो भने अर्कोतर्फ आर्थिक समस्या चुलिँदै गयो र परिणामस्वरुप पुल अलपत्र भएको छ” ।

जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख इञ्जिनीयर हिक्मतबहादुर महतले पुलको डिजाइन जिल्ला तहबाट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, डिजाइन गर्दा नै विस्तृत अध्ययन नभएको र छुट्टै कन्सल्टेन्सीले आफ्नो मनमानीअनुसार स्टिमेट गर्दा समस्या भएको महतको दाबी छ ।

विसं २०६८ बाट तीन स्ल्याब हालुञ्जेल झण्डै रु पाँचदेखि सात करोड बढी बजेट खर्च भइसकेको छ । तर अझै पनि पुलले पूर्णता पाउन नसक्नु दुखद् पक्ष हो उहाँले भन्नुभयो । उहाँका अनुसार अझै पनि यसलाई अन्तिमरुप दिन रु पाँच करोडभन्दा बढी बजेट आवश्यक पर्ने देखिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्