Logo

विद्यालय भवन निर्माण



गोरखा, १५ फागुन । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटमा रु तीन करोड ८९ लाखको लागतमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ ।

भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको ताकुकोटमा रहेको सूर्य ज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० गोरखाको समन्वयमा उक्त विद्यालयको भवन निर्माण भएको हो । नवनिर्मित विद्यालयको तीन वटा पक्की भवनमा २० वटा कक्षाकोठा रहेका छन् । भूकम्प प्रतिरोधी रहेको उक्त विद्यालय भवन अपाङ्गमैत्री र बालमैत्री रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुमार जोशीले जानकारी दिनुभयो ।

नवनिर्मित भवनमा छात्राछात्राका लागि सुविधा सम्पन्न शौचालयसमेत निर्माण गरिएको अध्यक्ष जोशीको भनाइ छ । भवन निर्माण नहँुदासम्म विद्यालयले अस्थायी टहरामा कक्षा सञ्चालन गर्दै आएको थियो । भवन निर्माण सम्पन्न भई सुविधा सम्पन्न भवनमा पढ्न पाउने भएपछि विद्यार्थी पनि खुशी भएका छन् ।

विसं २०७३ फागुन महीनामा निर्माण सम्झौता भई काम शुरु भएको विद्यालय भवन करीब दुई वर्षमा निर्माण सम्पन भएको विद्यालयले जनाएको छ । भूकम्पका कारण उक्त विद्यालयको चार वटा भवनका १६ वटा कोठा पूर्णरुपमा ध्वस्त भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्