काठमाडौं, १५ फागुन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असारमा कालोपत्रे गरेर बजेट सक्ने पूरानो परिपाटी अब परिवर्तन हुने स्पष्ट पारेका छन् । उनले मातहतका निकायलाई असारे विकास नगर्न निर्देशन समेत दिएका छन् ।
बुधबार संघीय संसदको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री महासेठले यस्तो निर्देशन दिएका हुन् । “असारमा कालोपत्रे गरेर भएको बजेट सक्ने पुरानो परिपाटी अब परिवर्तन हुनेछ,” मन्त्री महासेठले भने, “मातहतका निकायले अब क्वालिटी र क्वान्टिटी चेक गरेरमात्र विकास कार्य अघि बढाउनुस् ।”
मन्त्री महासेठले हाल सडक मर्मत, सम्भारको जिम्मा स्थानीय, प्रदेश र केन्द्र तहलाई गए पनि नेपाल सरकारको लगानी भएका सम्पूर्ण सडक मर्मतको जिम्मेवारीबाट मन्त्रालय पछि नहट्ने पनि बताए ।