Logo

आर्थिक विकासमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड



काठमाडौँ, १७ फागुन : नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको युवा महिला उद्यमीसम्बन्धी छलफल कार्यक्रमका वक्ताले नेपालको आर्थिक विकासमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

कृषि, उत्पादनका क्षेत्र, ऊर्जाजस्ता विभिन्न क्षेत्रमा क्रियाशील महिलाको अनुभव आदानप्रदान गर्ने, उनीहरुको व्यवसायलाई टेवा दिने उद्देश्यले सो कार्यक्रम गरेको मञ्चले जनाएको छ । ‘साझेदारी, समन्वय र सिर्जना’ विषयक सो कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले उद्योगधन्धाको क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्ने र महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले केन्द्रीय तथा प्रान्तीय क्षेत्रमा नयाँ कानून आवश्यक रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी भित्र्याएर महिला उद्यमको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । महिला उद्यमी बिमला श्रेष्ठले आफनो केन्या भ्रमणका बेला त्यहाँका महिला दिदीबहिनीको महिला उद्यममा पाएको सफलताबाट उनीहरुको जीवनमा ठूलो परिवर्तन आएको जानकारी गराउनुभयो ।

उहाँले नेपाली महिलाले पनि दत्तचित्त भई काम गर्ने हो भने उद्यम विकासका साथै समग्र मुलुकको नै आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । लिटिल थिङ्ग्स नामक संस्थाका सहसंस्थापक आभा धितालले महिला उद्यममा व्यवसायको विकाससँगै चुनौती पनि थपिँदै जाने भएकाले महिलाको ध्यान सोमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कञ्चनजङ्घा टी स्टेटका संस्थापक समीक्षा बाँस्कोटाले महिला पनि सीप सिकेर व्यवसाय गर्न सक्षम भएको थुप्रै उदाहरण भएको उल्लेख गर्दै महिलालाई उद्यमशीलतामा प्रोत्साहन दिन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा हालै उच्च शिक्षार्जन गरी उद्यम व्यवसायमा संलग्न विभिन्न २५ उद्यमीको सहभागिता थियो । रासस



प्रतिक्रिया दिनुहोस्