Logo

औषधिमा नेपाल आत्मनिर्भर हुनुपर्छ



चितवन, १७ फागुन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले औषधि उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ ।
सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्पो २०१९ को आज यहाँ उद्घाटन गर्दै उहाँले सबै मिलेमा देश औषधिमा आत्मनिर्भर बन्न सक्ने बताउनुभयो । बुद्धि र प्रविधिको साटासाट स्थलका रुपमा एक्पो पाएको भन्दै उहाँले सरकार औषधि उद्योगको विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेकामा प्रतिबद्धता जनाउनुभयो ।

औषधि निर्यातसमेत भएको सुन्न पाउँदा आफूलाई खुशी लागेको भन्दै उहाँले भन्नुभयो, “कहाँ के के गर्नुप¥यो, तपाईंहरुको साथमा सरकार छ ।” सरकार, निजी क्षेत्र र जनता मिल्नै पर्ने भन्दै उहाँले सबै मिलेमा दुनियासँग प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । सरकारको पहिलो प्राथमिकतामा स्वदेशी पूँजी नै रहेको उल्लेख गर्दै मन्त्री यादवले पूँजीको अभावका कारण विदेशी लगानीकर्तालाई आह्वान गर्नु परेको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशराज श्रेष्ठले सरकारले औषधि उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उद्योग नीतिका कारण फस्टाउने अवस्था नरहेको बताउँदै उहाँले समयसापेक्ष नीति परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले स्वदेशमा उत्पादित औषधिलाई सहज रुपमा बजारीकरण गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । विदेशबाट औषधिका कच्चापदार्थ मात्रै ल्याउने नीति सरकारले लिनुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा औषधि विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा १० हजार ब्राण्डका औषधि बन्ने बताउँदै ४५ प्रतिशत माग नेपालको उत्पादनले धानेको जानकारी गराउनुभयो ।

कार्यक्रममा निजी अस्पतालहरुको छाता सङ्गठन ९अफिन०का वरिष्ठ उपाध्यक्ष नारायणसिंह कुँवर, नेपाल औषधि व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, नेपाल आयुर्वेदिक औषधि उत्पादक सङ्घका अध्यक्ष विनोद पौडेल, जीनारायणबहादुर क्षेत्री लगायतले बोल्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने एक्पोमा दुई सय कक्ष रहेका छन् । कक्षहरुमा औषधि, औषधि उत्पादनका लागि आवश्यक पर्ने उपकरणलगायत राखिएको छ ।

मरणोपरान्त अङ्गदान गर्ने व्यवस्थासमेत एक्पोमा मिलाइएको छ । नेपालमा हाल ५७ एलोपेथिक र ४२ आयुर्वेदिक औषधि उद्योग सञ्चालनमा छन् । रु ३६ अर्बको एलोपेथिक र रु पाँच अर्बको आयुर्वेदिक औषधि नेपालमा खपत हुने गरेको नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपकप्रसाद दाहालले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्