Logo

अङ्ग दानको अभियानमा सहयोग पुर्याउन मन्त्री यादवको आग्रह



चितवन, १८ फागुन । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दानको अभियानमा सहयोग पु¥याउन सबैलाई आह्वान गर्नुभएको छ ।

नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको मरणोपरान्त अङ्ग दानको सामाजिक अभियानको शुभारम्भ गर्नुहुँदै अङ्ग दान महादान रहेको उल्लेख गर्नुभयो ।

अङ्ग दान सबैलाई गर्न आग्रह गर्दै उहाँले यस अभियानले धेरैको ज्यान बचाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “यस महान् कार्यमा हामी सबै लागौँ अभियानकै रुपमा लागौँ ।”

नेपालमा उत्पादन हुने औषधिमा गुणस्तरीयता सुनिश्चितता गर्न आग्रह गर्दै मन्त्री यादवले यहाँ उत्पादन हुने औषधि निर्यात नहुने गरी नीति बन्न लागेको बताउनुभयो । उहाँले जति औषधि नेपालमा बन्दैन ती मात्र आयात गर्ने गरी नीति बन्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासङ्घको संञ्जालमार्फत अङ्ग दानका विषयमा देशव्यापीरुपमा जनचेतना फैलाउन सहयोग गर्ने बताउनुभयो ।

उहाँले नेपालको औषधि लेख्न चिकित्सकलाई आग्रह गर्दै उपचार पनि नेपालमा नै गर्न सबैलाई अनुरोध गर्नुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले गत वर्ष पाँच हजार मानिसको सडक दुर्घटनामा निधन भएको भन्दै ती सबैको अङ्ग प्रत्यारोपण गर्नसकेमा मात्र पनि अङ्ग सञ्चालन नभएका कारण अकालमा ज्यान जानबाट धेरैलाई जोगाउन सकिने बताउनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मन, बचन र कर्मले अङ्ग दानमा सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक जना मस्तिक मृत्यु भएका व्यक्तिले आठ जना बचाउन सक्ने बताउनुभयो ।

उहाँले मुटु, कलेजो, आमाशय, सानो आन्द्रा, फोक्सो र मिर्गौला दान गरेर अरुको जीवन बचाउन सकिने बताउनुभयो । प्रत्यारोपण केन्द्रले छ वर्षमा ५८० जनाको अङ्ग प्रत्यारोपण गरेको बताउँदै उहाँले वर्षेनि करोडौँ रुपैयाँ अङ्ग प्रत्यारोपणका लागि विदेशिएको उल्लेख गर्नुभयो ।

सो अवसरमा औषधि उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष दीपकप्रसाद दाहाल र महासचिव प्रज्वलजङ्ग पाण्डेले सामाजिक उत्तरदायित्व बहन गर्दै सङ्घले सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ का अवसरमा अङ्ग दान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

उहाँहरुले विश्वमा प्रतिष्पर्धा हुने गरी गुणस्तरीय औषधि उत्पादन गर्न नेपालीसक्षम रहेको बताउनुभयो । एक्स्पो शुक्रबारबाट शुरु भएको हो । रासस
–––



प्रतिक्रिया दिनुहोस्