काठमाडौं २२ फागुन । राजनीतिक संक्रमण सकिएसँगै सत्तामा आएको दुई तिहाईको बलियो सरकारले जनअपेक्षाअनुसार विकास निर्माणको काम गर्न नसकेको देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिकजसो भाषणमा विकास निर्माणले गति लिएको बताउँदै आए पनि सरकारी तथ्यांकले काम हुन नसकेको देखाएको हो । अर्थमन्त्रालयले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनले सरकारको भनाइ र गराइमा मेल देखाउँदैन ।
गत वर्षमात्र होइन, पछिल्लो एक दशक यता सरकारले जुन किसिमको विकास (पुँजीगत) बजेट खर्च गर्दै आएको थियो, यो वर्ष पनि त्यो भन्दा कुनै भिन्नता देखिएको छैन । चालु आवको ६ महिनामा सरकारले विकास बजेट १७.७ प्रतिशतमात्र खर्च गरेको छ ।
यस अवधिमा वित्तीय संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा बढी केन्द्रीत हुनुपरेकाले पुँजीगत खर्च बढाउन नसकिएको अर्थमन्त्री युवराज खतिवडाको तर्क छ । –नागरिक दैनिकबाट