Logo

खेलमा सुधार, पूर्वाधार निर्माण अबको प्राथमिकता



काठमाडौँ, २३ फागुन । वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा खेल क्षेत्रमा दूरगामी असर पार्ने कार्यहरु भएका छन् । राष्ट्रिय खेलकूद ऐनलाई सङ्घीय संरचनाअनुसार परिवर्तन गर्न सरकार सफल भएको छ ।

उक्त विधेयक अहिले राष्ट्रियसभामा छलफलको क्रममा छ । त्यसैगरी, प्रत्येक स्थानीय तहमा खेलग्राम बनाउने कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको छ । खेल सङ्घहरुबीचका कतिपय विवादको निराकरण सरकारको एक वर्षको अवधिमा भएको एक उल्लेख्य उपलब्धि हो ।

एक वर्षको अवधिमा खेल क्षेत्रले केही ऐतिहासिक सफलता हासिल गरे तर, पूर्वाधार निर्माण भने सरकारले सोचेअनुसार अघि बढ्न सकेन । नेपाल क्रिकेट सङ्घ ९क्यान० निलम्बनमा परेको तीन वर्षसम्म पनि फुकुवाका लागि सन्तोषजनक पहल हुन सकेन । तथापि विगत आठ वर्षदेखिको केही खेल सङ्घका विवाद समाधान र नीतिगत सुधारका पक्षमा युवा तथा खेलकूद मन्त्रालयले प्रगति हासिल गरेको छ ।

सरकारले राष्ट्रको गौरवको रुपमा रहेको १३ औँ दक्षिण एशियाली खेलकूद ९साग० र आठौँ राष्ट्रिय खेलकूद यसै वर्ष गरिसक्नुपर्ने थियो तर, गर्न सकेन ।

गत मङ्सिर महिनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद पूर्वाधार अभावका कारण अहिलेसम्म मितिसमेत घोषणा हुन सकेको छैन । त्यसैगरी, यही फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद ९साग० निर्धारित मितिमा नहुने स्थिति देखापरेको छ ।

पूर्वाधार अभावमा प्रतियोगिता समयमै गर्न नसके पनि सरकारले छ महिना पछि गर्ने कटिबद्धतासहित दक्षिण एशियाली ओलम्पिक कमिटीलाई मिति पर सार्न पत्राचार गरिसकेको छ ।

साग सार्ने प्रस्ताव मन्त्रालयले राष्ट्रिय खेलकूद परिषद् ९राखेप०मार्फत पठाएको सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “भौतिक पूर्वाधार निर्माणको दिशामा यो वर्ष पर्याप्त काम हुन सकेन । त्यसकारण दुबै ठूला खेल सार्ने निर्णय गरिएको हो ।”

सदस्यसचिव विष्टका अनुसार आठौँ राष्ट्रिय खेलकूद र १३ आँै सागका लागि भौतिक पूर्वाधार निर्माण गर्न यस वर्ष रु ३३ करोड बजेट निकासा भइसकेको छ । प्रतियोगिता आयोजना गर्न रु ३५ करोड आवश्यक पर्नेमा रु १७ पनि करोड निकासा भइसकेको छ । पूर्वाधार नबनेरै प्रतियोगिता गर्न नसकिएको उहाँको स्वीकारोक्ति छ । झण्झटिलो टेन्डर प्रक्रियालगायतका कारण पूर्वाधार निर्माणले गति लिन नसेकेको उहाँ बताउनुहुन्छ ।

खेल सङ्घको विवाद अन्त्य

एक वर्षको अवधिमा मन्त्रालय विभिन्न खेल सङ्घहरूको विवाद अन्त्य गर्न सफल भएको छ । खेल सङ्घमा रहेको विवाद समाधान गर्न युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति बनाएरै काम थाल्नुभएको थियो ।

समिति गठन भएको तीन महिनाको अवधिमा समितिले तीनवटा खेल सङ्घको विवाद समाधान गर्न सक्यो । विवाद रहेका अन्य सङ्घहरूसँग छलफल भइरहेको छ ।

आठ वर्षदेखि फरक फरक अस्तित्वमा रहेका दुई वटा नेपाल कराँते महासङ्घको विवाद अन्त्य भएको छ । सहमतिअनुसार तीन महिनाभित्र नयाँ निर्वाचन गर्ने कार्यादेशसहित शम्भू आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी गठन भएको छ ।

तीन साताअघि मात्र समितिले मोडर्न पेन्टाथलन सङ्घको विवाद समाधान गरेको थियो । समितिले गत माघ ९ गते नेपाल जिम्न्यास्टिक सङ्घको विवाद समाधान गरी तदर्थ समिति बनायो । सङ्घहरूको विवादका कारण महत्वपूर्ण खेल गतिविधि अघि बढ्न सकेका छैनन् । उस्सु र तेक्वान्दो जस्ता ठूला खेलहरुमा विद्यमान विवाद पनि केही दिनभित्रै समाधान हुनेमा समितिका संयोजक तिम्सिना आशावादी हुनुहुन्छ ।

समितिले ती सङ्घसँग पनि निरन्तर छलफल गरिरहेको र केही साताभित्र समाधान निस्कने समितिका अर्का सदस्य युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो । “उहाँहरूसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ, केही दिनमा हामी पुनः छलफलमा बस्छौँ र विवाद समाधान गछौँ,” उहाँले भन्नुभयो ।

मन्त्रालयले तिम्सिनाको संयोजकत्वमा सहसचिव न्यौपाने र राखेप खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेको तीन सदस्यीय समितिको गठन गत मङ्सिरमा गरेको थियो ।

मूलपानी विवाद समाप्त

लामो समयदेखि जग्गा विवादका कारण निर्माण सम्पन्न हुन नसकेको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विवाद अन्त्य भएको छ ।

मैदानको पश्चिमपट्टि रहेको १० स्थानीयवासीको ४७ आना जग्गामा शुरुदेखि नै मुआब्जा विवाद रहँदै आएको थियो । मन्त्रिपरिषद्को गएको साउन २९ गते बसेको बैठकले उक्त विवाद सल्टाउने निर्णय गरेपछि मैदान निर्माणको कामले गति लिएको छ ।

मन्त्री विश्वकर्माको पहलमा मन्त्रिपरिषद्को बैठकले उक्त ४७ आना जग्गाको सट्टा स्थानीयवासीलाई सोही स्थान नजीकै जग्गा नै उपलब्ध गराउने निर्णय गरेसँगै चार वर्षदेखिको विवाद अन्त्य भएको हो । विश्वकर्मा खेलकूदमन्त्री भएलगत्तै गत चैत १२ गते मूलपानी मैदानको भ्रमण गरी जग्गा विवाद तत्काल समाधान गर्ने आश्वासन दिनुभएको थियो र त्यसको झण्डै छ महिनापछि विवाद सल्टियो ।

खेलाडीको सफल वर्ष

गत वर्षको चैतमा नेपाली क्रिकेटले ऐतिहासिक एक दिवसीय मान्यता पाउन सक्यो । प्याराग्लाइडिङले १८ औँ एशियाली खेलकूदमा मुलुकलाई रजत पदक दिलायो । शारीरिक सुगठनमा महेश्वर मास्के विश्वस्तरको पदक जित्न सफल हुनुभयो । क्रिकेटर सन्दीप लामिछाने एकपछि अर्को सफलता हात पारेर कीर्तिमान बनाउन सफल हुनुभयो ।

पूर्वाधार निर्माण निराशाजनक

देशकै एकमात्र अन्तर्राष्ट्रिय खेल मैदानको रूपमा रहेको दशरथ रङ्गशालामा खेल गतिविधि नभएको चार वर्ष हुन लाग्यो । सन् २०१९ मा नेपालले १३ औँ साग आयोजना गर्ने जिम्मा लिएको थियो । त्यसअनुरुप दशरथ रङ्गशालाको पुनःनिर्माण भने सन्तोषजनक ढङ्गले अघि बढिरहेको छैन ।

नेपाली फुटबलको इतिहास बोकेको यो रङ्गशाला २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भयो । अहिले ७० प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएको छ । चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, साउन्ड सिस्टम, फ्लड लाइट र स्कोर बोर्डको काम शुरु हुनै बाँकी छ । स्कोर बोर्ड निर्माणको काम भने शुरु भएको छ ।

अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाकोे पुनःनिर्माण प्रक्रिया भूकम्पको एक वर्षपछि नै शुरु गरिएको भए पनि गत जेठदेखि मात्रै कामले गति लिएको थियो । फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद आयोजनाका लागि रङ्गशाला तयार पार्ने लक्ष्यसहित काम शुरु गरिएको थियो ।

सदस्य सचिव विष्टले आमामी असार मसान्तसम्ममा पुनःनिर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुहुन्छ । रङ्गशालामा भव्य कार्यक्रम गरेर राखेपबाट बिदा हुने सोचमा उहाँ हुनुहुन्छ ।

भिआइपी प्यारापिट र साधारण प्यारापिटको तल्लो चार तहको कामको जिम्मा पिएल प्रतिष्ठा किराँतेश्वर जेभीले लिएको छ । राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इन्जिनीयर अरुण उपाध्यायका अनुसार अहिले १०० देखि १५० मजदूरले दैनिक काम गरिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्