Logo

शोकलाई शक्तिमा बदल्न प्रधानमन्त्रीको आग्रह



काठमाडौँ, २३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवङ्गत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन् ।

नेकपाद्वारा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री अधिकारी र हवाई दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित अन्य सात जनाले आफ्ना जीवन कालमा पु¥याउनुभएको योगदान स्मरण गरे ।

अध्यक्षद्वयले सभामा भरतमोहन, रवीन्द्रजस्ता कम्युनिष्ट आन्दोलनलाई हाँक्न सक्ने नेता, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवक कर्मचारी गुमाएकामा दुःखसमेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले दिवङ्गत भएकाहरुको राष्ट्र निर्माणका बाँकी कार्य पूरा गरिने र दिवङ्गतका परिवारलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘‘उहाँहरुका पारिवारिक अवस्था कस्तो छ र जीविका चलाउन के गर्न सकिन्छ । उहाँहरुले सञ्चालन गरेको व्यवसायलाई सरकारले के सहयोग गर्नुपर्दछ भनेर जानकारी लिइरहेका छौँ ।’’

अध्यक्ष ओलीले भरतमोहन मिलनसार, कडा शब्द प्रयोग गर्न नचाहने र काममा विश्वास गर्ने नेताका रुपमा आफूले पाएको बताए । भरतमोहन छ दशकभन्दा नेपालको लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा सहभागी भएका नेताका रुपमा आफूले पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सजिलोमा मात्र नभई अप्ठ्यारो परिस्थितिमा पनि निरन्तर कम्युनिष्ट नेता र कार्यकर्ताका रुपमा अधिकारी कम्युनिष्ट अभियन्ताका रुपमा लागेको धारणा राखे ।

प्रधानमन्त्री ओलीले रवीन्द्रले सम्हालेको मन्त्रालयमा एक वर्षमा अगाडि बढाइएका असाधारण एवम् काम बिर्सन नसकिने र कसैले उपेक्षा गर्न नसक्ने बताए । उनले शेर्पाले छोटो समयमा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय काम गरेको स्मरण गरे । उनले दिवङ्गत हुनुभएका सबैको चाहना लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई समृद्ध गर्ने रहेको र निष्ठापूर्वक काम गरेको बताए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्