Logo

श्रद्धाञ्जली सभामा प्रचण्डले भने,“उहाँहरुको निधन पहाडभन्दा गह्रुङ्गो र कहिल्यै नमर्ने खालको छ”



काठमाडौँ, २३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष अर्का अध्यक्ष दाहाल प्रचण्डले पार्टी यतिबेला शोकमा डुबेकाले शोकलाई शक्ति र ऊर्जामा बदली उनीहरुको सपनालाई साकार पार्नुपर्ने बताए ।

नेकपाद्वारा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने,‘‘शोकमा परेको बेला राष्ट्र निर्माणमा नयाँ सङ्कल्प ग¥यौँँ भने मात्र दिवङ्गतप्रति सच्चा सम्मान हुनेछ, हामी रोएर मात्र पीडा व्यक्त गर्न सक्दैनौँ । हामीले उहाँहरुले गरेका राम्रा कामबाट सामूहिक सङ्कल्प गरेर नयाँ ऊर्जा लिई समाजको अग्रगति तथा प्रगतिको निम्ति शोकलाई शक्तिमा बदल्ने सक्नुपर्दछ ।”

पूर्वप्रधानमन्त्री दाहालले दिवङ्गत व्यक्तिहरुले लाखौँ मानिसलाई उद्वेलित र तरङ्गित पार्ने गरी तथा धेरै लामो समयसम्म छाप छाड्ने गरी मुलुकका लागि भूमिका निर्वाह गरेको बताए । “उहाँहरुको निधन पहाडभन्दा गह्रुङ्गो र कहिल्यै नमर्ने खालको छ”, उनले भने, “उहाँहरुको निधनले कस्तो जीवनमा आफूलाई लैजाने भनेर सोच्न समेत पे्ररित गरेको छ ।”

उनीहरुको अभावमा देशले नेपालको कम्युनिष्ट आन्दोलन र समग्र आन्दोलनले कति ठूलो क्षति व्यहोरेको छ भन्ने कुरा आउने दिनमा हामी सबैले महसुस गर्दै जाने प्रचण्डको भनाई छ ।

कम्युनिष्ट आन्दोलनको अभिभावक रुपमा भरतमोहन र समाजको रुपान्तरणको निकै ठूलो आशा भरोसा गरेको नेताका रुपमा रवीन्द्र रहेको आफूले पाएको उनको धारणा थियो । “लाखौँ लाख युवाले आफ्ना लागि ऊर्जाका रुपमा रवीन्द्रलाई लिएका थिए”, उनले भने,“उहाँहरुको निधन अकल्पनीय रुपमा भएको छ, आउने दिनमा हामीलाई उहाँहरुको अभाव हुँदै जानेछ ।”

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्