Logo

ओलीले हाम्रो पार्टीको चिन्ता नलिए हुन्छ : यादव



‘सरकार र सिके राउतबीचको सम्झौता रहस्यमय’

काठमाडौं २५ फागुन । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकार र सिके राउतबीचको सहमति रहस्यमय भएको टिप्पणी गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लगातार बस्दै आएको आजको बैठकको सुरुमैं पत्रकारहरुलाई प्रतिक्रिया दिँदै यादवले सिके राउतको निर्णय अकस्मात (अनएक्सपेकडेड) रहस्यमय र विवादास्पद भएको टिप्पणी गरे । उनले भने,‘यो विषय हाम्रो पार्टीको आजको बैठकको एजेण्डा नभएपनि समीक्षा हुन्छ ।’

यादवले राजपालाई प्रधानमन्त्रीले लगाएको आरोपको खण्डनसमेत गरे । उनले भने–प्रधानमन्त्री ओलीको एक वर्षे कार्यकाल उखान–टुक्का र गाली–गलौजमा व्यतित भएको छ ।’ सांसद यादवले प्रधानमन्त्री ओलीलाई राजपा पार्टी चलाउने एकसे एक नेताहरु रहेकोले आफ्नो पार्टीको विषयमा चिन्ता नलिन पनि आग्रह गरे ।

सरकारलाई दिएको समर्थनको एक वर्षे कार्यकालमा पार्टीलाई भएको घाटा, नोक्सान, प्रदेश र जिल्ला–जिल्लाबाट आएका र ल्याईएका विषयवस्तुहरुको गहन अध्ययनपश्चात् पार्टीको आगामी कार्यदिशा सार्वजनिक गर्ने पनि उनले जनाए ।  यादवले भने–अबको तीन/चार दिनभित्रै पार्टीले गर्ने आन्दोलनलगायतका एजेण्डाहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौं ।’

तस्विर : मुकुन्द कालिकोटे/ ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्