Logo

शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै



खस्यौली, २६ फागनु । शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै जान थालेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेकोे बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शनिबार आयोजना गरेको पाँचौँ वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा उपभोक्तालाई खानेपानीको पहँुच विस्तार गर्न थप योजना विस्तारको लक्ष्य राखेको जानकारी दिएको छ । संस्थाले नगरपालिकाको ७, ८, ९ र कञ्चन गाँउपालिका–१ स्थित लौसामा शुद्ध खानेपानी उपभोक्तालाई पु¥याउँदै आएको छ ।

सो अवसरमा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले खानेपानीको क्षेत्रमा संस्थाले उल्लेखनीय काम गरेको भन्दै काम गर्नका लागि एकरुपता आवश्यक भएको बताउनुभयो । उहाँले सरकारले अघि सारेको खानेपानी योजना हस्तान्तरण हुँदा प्रदेशमातहत आउन थालेको जानकारी दिँदै उपभोक्ता खानेपानीको अधिकारप्रति सचेत हुनथालेको बताउनुभयो । खानेपानी योजनालाई व्यवस्थापन गर्न सके खानेपानी संस्थाले गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने बताउँदै नगरप्रमुख कार्कीले नगरपालिकाका सबै वडामा शुद्ध र स्वच्छ खानेपानीको उपभोग उपभोक्ताले गर्न पाउनेछन् भन्नुभयो ।

संस्थाका अध्यक्ष एकदेव पौडेलले खानेपानीमा उपभोक्ताको पहुँच बढाउन प्राविधिक सम्भाव्यता अध्ययनसमेत भएको उल्लेख गर्नुभयो । स्थानीय उपभोक्ता खडानन्द खनालले विगतमा खोल्सा र इनारको पानी उपभोग गरेर जीवन व्यतित गर्नुपरेकामा खानेपानी संस्थाको स्थापनापछि शुद्ध खानेपानी उपभोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

नगरपालिकाको ७, ८, ९ र कञ्चन गाउँपालिका–१ का करीब एक हजार २६५ उपभोक्ताले खानेपानीका लागि धारा जडान गरेका छन् । संस्थामा एक हजार ७२५ सदस्य छन् । संस्थाले अन्दाजी तीन कठ्ठा जग्गामा दुई डिपट्युबेल बोरिङ, अपरेटर भवन, शौचालयसँगै ८५ प्रतिशत पाइपलाइन विस्तार गरेको छ ।

रु सात करोड ३१ लाख बराबरको खानेपानी योजना रहेको संस्थाको ओभरहेड ट्याङ्कीको लागत रु एक करोड ८२ लाख रहेको थियो । सो ट्याङ्कीको क्षमता तीन लाख ५० हजार लिटर रहेको छ । विसं २०६६ मा संस्था स्थापना भएको थियो ।

घरमै पानी आएपछि स्थानीयवासी हर्षित

दमौली, २६ फागुन . तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन् । खानेपानी अभावमा घण्टाँै हिँडेर खानेपानी जोहो गर्नुपर्ने यस ठाउँका बासिन्दा घरमै पानी आएपछि हर्षित भएका हुन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको सहकार्यमा ढोरफिर्दी खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै खानेपानीको जोहोमा घण्टाँै खर्चिनुपर्ने बाध्यता हटेको स्थानीय तुलमाया लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको धारा घरघरमै भएको हुनाले घरको काम पनि बेलामै गर्न पाइएको छ, अहिले त दैनिकी नै फेरिएको छ ।” आयोजना निर्माण हुनुअगाडि खानेपानीको जोहो गर्ने पीरले सताइरहने उहाँले बताउनुभयो । उहाँका अनुसार एक गाग्री पानी भर्न घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो । बिहान–बेलुकाको समय पानीको आशमा लाइन बसेरै बित्थ्यो । उहाँले भन्नुभयो, “दिउँसो २ बजे पानी लिन गइयो भने फर्कँदा साँझ पथ्र्यो ।”

उहाँका अनुसार पानीको अभावमा जमीन पनि बाँझै भएपछि तरकारीको लागि बजारमा भर पर्नुपर्ने अवस्था रहेको थियो । अब भने उक्त समस्या हटेको उहाँले जानकारी दिनुभयो । घरघरमै पानीको धारा जडान भएपछि यहाँका स्थानीयवासीले तरकारी खेतीसमेत शुरु गरेका छन् । “सबैले आफूलाई पुग्ने तरकारी आफँै खेती गर्न शुरु गरेका छन्”, उहाँले भन्नुभयो ।

स्थानीय सरस्वती रेग्मीले घरमै खानेपानी आएपछि सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी खोज्न गाउँका कुवा, धारा धाउँदैमा दिन बित्थ्यो । अहिले घरमै पानी आएपछि खुशी लागेको छ ।” रु दुई करोड तीन लाख २५ हजार ८९९ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको लालिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार खानेपानी आयोजनाका लागि नेपाल सरकारबाट रु एक करोड ४२ लाख ७६ हजार ९३० सहयोग भएको छ भने स्थानीयवासीले रु ६० लाख ४८ हजार ९९६ बराबरको जनश्रमदान गरेका छन् । विसं २०६८ बाट निर्माण शुरु भएको खानेपानी आयोजना सात वर्षको प्रयासपछि सम्पन्न भएको हो ।

आयोजनाबाट यस ठाउँका ५०९ घरधुरीका चार हजार ३०४ लाभान्वित भएका छन् । पाँच सय ९ घरधुरीमा नै धारा जडान गरिएको छ । गरजुरे लम्धी खोला कालमुढाको दोभानको मुहानबाट ल्याइएको पानी ५०÷५० हजार लिटरका दुई ट्याङ्कीमा सङ्कलन गरेर वितरण गरिएको छ । मुहान र ट्याङ्कीको दूरी १३ किमी छ ।

रासस



प्रतिक्रिया दिनुहोस्