Logo

काठमाडौं विद्या मन्दिरले भव्य रुपमा मनायो १९ औं स्थापना दिवस



काठमाडौं, २६ फाल्गुन । काठमाडौं विद्या मन्दिर (केभीएम) ले आफ्नो १९ औं स्थापना दिवस एवं अभिभावक दिवस भव्य रुपमा मनाएको छ। शनिबार स्कुल प्रांगणमा आयोजित विशेष समारोहबीच स्कुलले आफ्नो १९ औं स्थापना दिवस एवं अभिभावक दिवस मनाएको हो।

कार्यक्रममा प्रमुख अतिथि रहेका काठमाडौं निर्वाचन क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्य कृष्ण राईले केभीएमले उत्कृष्त शिक्षा प्रदान गरेको भन्दै प्रशंसा गरेका थिए। उनले सस्तो सुलभ शिक्षा प्रदान गर्नु चुनौतीपूर्ण भएको उल्लेख गर्दै उक्त चुनौतीलाई पनि अवसरको रुपमा लिएर विद्यालयले प्रतिश्पर्धीमाझ आफूलाई स्थापित गर्न सफल भएको बताए।

राजधानीमा धेरै निजी स्कुल रहेको र प्रतिश्पर्धा पनि त्यही प्रकारको भएको उल्लेख गर्दै महंगो फिस तिर्ने वित्तिकै राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए। देशका कर्णधार विद्यार्थीको भविष्य निर्माण गर्ने काममा विद्यालयको भूमिका महत्वपूर्ण हुने भन्दै सांसद राईले त्यस दिशामा ध्यान केन्द्रत गर्न आग्रह गरेका थिए।

स्कुलमा प्रिन्सिपल मिनकुमार कोइरालाले विभिन्न वाधा र अवरोधबीच स्कुलले १९ औं स्थापना दिवस मनाउन सफल भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा विद्यालयले कुनै कन्जुस्याईँ नगर्ने प्रतिबद्धता व्यक्त गरे। ‘योबीचमा हामीले आम विनाशकारी भूकम्प, ६ महिनासम्मको नाकाबन्दी पनि व्यहोर्यौं,’ उनले भने, ‘यस्तो कठिन समयमा पनि हामीले सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयलाई सधैं केन्द्रमा राख्यौं।’

विद्यालयले स्थापना दिवस एवं अभिभावक दिवसको अवसरमा विभिन्न सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा गत शैक्षिक वर्ष २०७४ सालमा उत्कृष्ट भएका छात्रछात्रालाई पुरस्कार वितरण गरिएको थियो भने यसअघि विद्यालयले संचालन गरेको खेलकुद सप्ताहमा उत्कृष्ट भएका विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो। साथै उत्कृष्ट शिक्षक शिक्षिकालाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रमा अतिथि एवं अभिभावकको उल्लेख्य उपस्थिति थियो।



प्रतिक्रिया दिनुहोस्