Logo

निजी क्षेत्रलाई उच्च शिक्षामा लगानी गर्न मन्त्री पोखरेलको सुझाव



काठमाडौं, २८ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई सेवाको क्षेत्रका रुपमा हेरिनुपर्ने र सामुदायिक विद्यालयको स्तरमाथि उठाउनु पर्नेमा जोड दिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भने,“तपाईंहरु चिन्तामुक्त हुनुहोस्, अहिले कुनै सङ्कट छैन । तपार्ईंहरुको लगानी र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध छ । शिक्षा अरु व्यवसाय जस्तो होइन । सरकार नयाँ शिक्षा नीति कानून ल्याउने तयारीमा छ, तपाईंहरु संवाद र सहकार्यमा आउनुहुने विश्वास मैले लिएको छु ।”

मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा राज्यले पर्याप्त लगानी गर्न नसकेको अवस्थामा अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा निजी क्षेत्रको भूमिकालाई स्वीकारेको भए पनि संविधानको कार्यान्वयनका सन्दर्भमा सामाजिक न्यायमा आधारित समृद्ध नेपाल निर्माणको प्रक्रियामा सरकार अघि बढिरहेकाले त्यसमा सहकार्य गर्न आग्रह गरे ।

“आम मानिसको जीवनस्तरमाथि उठ्ने र उनीहरु खुशी हुने बाटोको खोजी गर्ने क्रममा शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रुपमा र विज्ञान, प्रविधिलाई उत्पादन शक्तिका रुपमा लिनुपर्छ” उनले भने, “सबैले सोच्ने विषय नेपाल देश, जनता र नयाँ पुस्ता हो ।” मन्त्री पोखरेलले शिक्षामा सार्वजनिक र निजीका बीचमा देखिएका खाडललाई चिर्दै निजी क्षेत्रलाई उच्च शिक्षामा लगानी गर्न पनि सुझाव दिए ।

तस्विर : मुकुन्द कालिकोटे/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्