Logo

‘योजनाका आधारमा हुने प्रक्षेपणले विकासमा सघाउ पुग्छ’



खस्यौली, २९ फागुन । प्रदेश नं ५ का मुख्यमन्त्री शङकर पोखरेलले योजनाका आधारमा हुने प्रक्षेपणले विकासमा सघाउ पुग्ने बताउनुभएको छ । बुटवलमा जनशक्ति प्रक्षेपण कार्यदल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौँले आज आयोजना गरेको ‘जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजनासम्बन्धी’ प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले समाजलाई अध्ययन गर्न सक्ने जनशक्ति मुलुकका लागि आवश्यक भएको बताउनुभयो ।

कुनै पनि व्यवस्थाप्रति विकर्षण पैदा हुने गरी जनशक्ति प्रक्षेपण गर्नु नहुने उहाँले बताउनुभयो । मुख्यमन्त्री पोखरेलले रोजगारसम्बन्धी नीति कस्ता हुन्छन् भन्ने विषयले पनि प्रक्षेपणमा प्रभाव पार्ने उल्लेख गर्नुभयो । “नीतिमा भएको असन्तुलनले शिक्षामा समेत विकर्षण पैदा भएको छ”, उहाँले भन्नुभयो ।

शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले उच्च तहको जनशक्ति उत्पादनको विषयलाई प्राथमिकतामा राखेर यस्तो अन्तरक्रियाको आयोजना गरिएको जानकारी दिनुभयो । जनशक्ति प्रक्षेपण कार्यदलका सदस्य डा इन्दिरा पराजुलीले कृषिमा उत्पादन घट्दै गएकाले त्यसको असर अर्थतन्त्रमा समेत परेको उल्लेख गर्नुभयो । जनशक्ति प्रक्षेपणको विषयगत क्षेत्र औद्योगिक वर्गीकरण र पेशागत वर्गीकरण भएको उहाँले बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्