काठमाडौँ, १३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले ललितपुर महानगरपालिकामा कलाको संरक्षण र संवद्र्धनमा तीन तहको सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
ललितपुर महानगरपालिका वडा नं १६ ले आजदेखि यहाँ आयोजना गरेको ‘कला तथा संस्कृति प्रदर्शनी’ को उद्घाटन गर्दै उहाँले यूवा पुस्तामा हस्तकलालगायत पुख्र्यौली पेशाप्रतिको आकर्षण कम हुँदै गएको बताउनुभएको हो ।
महानगरपालिका ‘कला नगरी’ घोषणा हुनु कला संरक्षणका लागि अवसरसमेत बनेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “विश्वमा परिचित हस्तकला पेशालाई संरक्षण गर्न सबै मिलेर जुट्नुपर्छ ।” उपराष्ट्रपति पुनले भन्नुभयो, “यहाँको कला र संस्कृति विश्वमा नै परिचित हुनु हामी सबैका लागि खुशीको कुरा हो ।”
नगर प्रमुख चिरीबाबु महर्जनले ३५औँ ‘कला नगरी’ का रुपमा घोषणा हुनु ललितपुर महानगरपालिकाका लागि अवसर र चुनौती दुवै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कला र संस्कृतिलाई यहीरुपमा राखिरहन नसके खतराको चिह्न ९डेन्जर जोन० मा पर्न सक्छ ।” विश्व कलापरिषद्, एशिया प्रशान्तका उपाध्यक्ष धर्मराज शाक्यले यहाँका उत्पादनलाई ‘लोगो’ दिन सकिने बताउनुभयो ।
नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाई श्रेष्ठले महानगरभित्रका कला र संस्कृतिको विकासमा महासङ्घले महानगरपालिकासँग सहकार्य गर्ने उल्लेख गर्नुभयो । ललितपुर वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले महोत्सवले वडाभित्रका सबै संस्कृति र स्मारक समेट्ने जानकारी दिनुभयो । आजदेखि शुरु भएको महोत्सव पाँच दिनसम्म चल्नेछ । रासस