Logo

विपन्न परिवारमा निःशुल्क स्वास्थ्य बीमा



बेझाड, १८ चैत । पाल्पाको माथागढी गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । विपन्न स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र बसोबास गरेका ८०० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।

यस वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले रु २० लाख बजेट छुट्याएर सबै वडा वडामा पुगेर स्वास्थ्य बीमा दर्ता कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिनुभयो । “आथिक अभावमा अस्पतालसम्म पुगेर स्वास्थ्य उपचार गर्न नसक्दा उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था गाउँमा रहेको छ, गाउँपालिकाभित्रका कुनै पनि नागरिक उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर यो कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विपन्न परिवारको घर घरमा बीमाकर्ता परिचालन गरेर स्वास्थ्य बीमा गराएपछि यहाँका नागरिक खुशी भएका छन् । अहिले बीमा गरेपछि स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्या बढ्न थालेको छ ।

आर्थिक समस्याले गर्दा यहाँका नागरिक उपचार अभावमा भित्रभित्रै रोगसँग लडेर बाँचिरहेका थिए । बीमा गरेपछि स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढ्दै गएको पाइएको छ । गत वर्ष पनि गाउँपालिकाले विपन्न स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत रु २० लाख रकम विनियोजन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष विपन्नअन्तर्गत पनि पहिचान गरेर अति विपन्न, एकल महिला, दीर्घरोगी, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिएर स्वास्थ्य बीमा गरिरहेको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य बीमा दर्तापश्चात् गाउँपालिकाका आठवटै वडामा बीमाको महत्वबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ । साथै गाउँपालिकाले घर घरमा पुगेर ज्येष्ठ नागरिक उपचार सेवा, गाउँ गाउँमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर, सुत्केरी महिलालाई पोषण भत्ता, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्