मुसिकोट, २४ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांस्कृतिक क्रान्ति अहिलेको आवश्यकता भएको बताउनुभएको छ । रुकुम पश्चिमको मुसिकोटमा जिल्ला समन्वय समितिले आज आयोजना गरेको कर्णाली प्रदेशस्तरीय बृहत् सांस्कृतिक सम्मेलनमा उहाँले सांस्कृतिक क्रान्तिबाट नै समाजवादी व्यवस्था आउने बताउनुभयो ।
देशको आमूल परिवर्तनका लागि अब सांस्कृतिक, भाषिक र जातिय पहिचानलाई समेत बचाइ राख्न सांस्कृतिक क्रान्ति आवश्यक रहेको उहाँको भनाइ थियो । “कर्णालीका जनताले स्थायी शान्ति र सुशासन चाहेका छन्, त्यसको लागि परिवर्तनसहित विकास र नयाँ व्यवस्था कायम गर्न कर्णाली प्रदेश लागि परेको छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री शाहीले सांस्कृतिक क्रान्ति र नयाँ व्यवस्थाका लागि हराउँदै गएको हिजोको सांस्कृतिक पहिचानलाई समेत जोगाउनुपर्ने बताउनुभयो । कर्णाली प्रदेश भाषा, कला र संस्कतिको धनी भएकाले यी सांस्कृतिक पहिचानलाई बचाउन रुकुम पश्मिबाट नै यसको थालनी गरिएको उहाँको भनाइ थियो । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाको लोपोन्मुख कला, संस्कृति, वेशभूषा तथा झाँकी प्रस्तुत गरिनेछ । रासस