Logo

संसद्ले लोकतान्त्रिक मूल्यमान्यताको प्रवद्र्धन गर्दै



काठमाडौँ, २५ चैत । सभामुख कृष्णबहादुर महराले नेपालको संसद्ले लोकतान्त्रिक मूल्यमान्यताको प्रवद्र्धन गर्दै आएको बताउनुभएको छ । कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका सङ्घ आइपियूको १४० औँ सभाअन्तर्गतको ‘शान्ति, सुरक्षा र कानूनी शासनको शिक्षा अभिवृद्धि गर्न संसद् मञ्च’ विषयको सत्रलाई गएराति सम्बोधन गर्दै उहाँले मानवअधिकार, समानता र कानूनी शासनको संरक्षणमा पनि संसद्ले उपयुक्त भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

राजनीतिक नेतृत्व र विधायकले आफ्ना देशका विशिष्ट आवश्यकता र विकासको अवस्थालाई ध्यान दिँदै उपयुक्त नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै सभामुख महराले सकारात्मक परिवर्तनतर्फ जनप्रतिनिधिको संस्थाको रुपमा रहेको संसद्ले भूमिका खेल्ने बताउनुभयो । “जनताको प्रतिनिधिका रुपमा संसद्ले कानून निर्माण, बजेटरी नियन्त्रण र सरकारका नीति तथा कार्यक्रमको निरीक्षणमार्फत् सकारात्मक परिवर्तन स्थापित गर्न सक्छ”–उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्व र जनप्रतिनिधिले देशका विशिष्ट आवश्यकतालाई ध्यान दिई नीति निर्माण गर्नुपर्दछ ।”

विद्यालयलाई शान्ति क्षेत्रका रुपमा पहिचान गरी शान्तिपूर्ण वातावरणमा पठनपाठन गर्न पाउने अवस्था निर्माण गरिएको उल्लेख गर्दै उहाँले द्वन्द्व र सङ्कटका समयमा बालबालिकाको शिक्षाको अधिकार कुण्ठित हुनबाट जोगाउने प्रयास गरिएको बताउनुभयो । विद्यालय क्षेत्र सुधार योजनाले सबै बालबालिकालाई विभेद् नहुने गरी सुरक्षित वातावरणमा सिकाइको अवसर प्रदान गर्ने लक्ष्य लिएको भन्दै उहाँले शिक्षा र सचेतना अभिवृद्धि गर्ने कार्यमा सरकारी संयन्त्र मात्र नभइ अन्य सरोकारवाला र साझेदारसमेत लागिपरेको बताउनुभयो ।

सबैलाई समावेशी र समतामूलक शिक्षाको अवसर प्रदान गर्नु दिगो विकास लक्ष्यको एक आयाम रहेको उल्लेख गर्दै सभामुख महराले यसको लागि राज्यले शिक्षालाई प्राथमिकता दिनु आवश्यक रहेकोमा जोड दिनुभयो । “महिला, अल्पसङ्ख्यक वर्ग र अन्य सीमान्तकृत समूहलाई न्याय सुनिश्चित गर्न सरकार र समाजका अन्य क्षेत्रको सामूहिक प्रयास आवश्यक रहन्छ”–उहाँले भन्नुभयो, “गरीबी, असमानता र असुरक्षाविरुद्ध लड्न र सांस्कृतिक, धार्मिक तथा वैचारिक विविधताप्रति सहिष्णुता र सम्मान कायम गर्न शिक्षा शक्तिशाली साधन हो ।” नेपालले सन् २०३० सम्ममा आम नागरिकको न्यून आयबाट मध्यम आयमा रुपान्तरण गर्ने लक्ष्यमा शिक्षालाई प्राथमिकता दिएको सभामुख महराले जानकारी गराउनुभयो ।

सम्बोधनकै क्रममा सभामुख महराले शान्ति स्थापना र प्रजातान्त्रिक परिवर्तनमा आइपियूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक अन्तक्र्रिया र ठोस् कार्यमार्फत् शान्ति स्थापना र सकारात्मक प्रजातान्त्रिक परिवर्तनको लागि अन्तर–व्यवस्थापिका सङ्घले निर्वाह गरेको भूमिकाको सराहना गर्दछु ।”

सभामा गरिएको छलफलले शान्ति र सुरक्षासहितको समतामूलक र न्यायिक समाज निर्माणमा जनप्रतिनिधिको योगदान थप स्पष्ट हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभएको सभामुख महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो । यही चैत २३ गतेदेखि शुरु भएको सो सभामा १६७ देशका एक हजार ६०० प्रतिनिधिले सहभागिता जनाएका छन् । सभामा विभिन्न अलग–अलग सत्रमा सभामुख, अध्यक्ष तथा सांसदले विविध विषयमा छलफल गरिरहनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्