Logo

लक्ष्य हासिल गर्न सुरक्षा क्षेत्रमा बजेट वृद्धि आवश्यकः गृहमन्त्री थापा



काठमाडौँ, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा सरकारले बजेट वृद्धि गर्नुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटबारे आज गृह मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उहाँले विकास र समृद्धिको लक्ष्य हासिल गर्न सुरक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने बताउनुभएको हो । “विगतको कामको समीक्षा गरेर नयाँ बजेटमा सोही अनुसारको खाका बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

गृहमन्त्री थापाले गृह मन्त्रालयमा यो वर्ष बजेट घटाएको सुनिएको बताउँदै घटाउनभन्दा बढाउनका लागि अर्थ मन्त्रालयले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । नयाँ बजेटमा प्रहरीलाई आधुनिकीकरण गर्न तथा स्रोतसाधन सम्पन्न बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

गृहसचिव प्रेमबहादुर राईले गृहका लागि परम्परावादीभन्दा नयाँ ढाँचाको बजेट बनाउनुपर्ने बताउनुभयो । उहाँले खर्च गर्न सक्ने काममा मात्रै बजेट माग गर्न र आएको बजेट सक्नेगरी काम गर्न निर्देशन दिनुभयो । बैठकमा गृह मन्त्रालयअन्तर्गत नीति योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन विभाग, कारागार विभाग लगायतका निकायले आफ्नो बजेटमागबारे जानकारी गराउनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्