Logo

सुर्खेतमा शिक्षण अस्पताल आवश्यक छः उपप्रधानमन्त्री यादव



सुर्खेत, १० वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शिक्षण अस्पताल आवश्यक भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अवस्थित प्रदेश अस्पतालमा आज सिटी स्क्यान सेवाको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री यादवले शिक्षण अस्पाताल खोल्न सुझाउनुभयो । “यो प्रदेशको जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ,” उहाँले भन्नुभयो, त्यसको उन्नयन र विकासमा सङ्घसहित प्रदेशको सहयोग अपरिहार्य छ ।” यद्यपि सरकारले यसअघि ‘एक प्रदेश, एक मेडिकल कलेज’को अवधारणा ल्याइसकेकोले प्रदेश राजधानी सुर्खेतमा शिक्षण अस्पताल आवश्यक रहेको उहाँले तर्क गर्नुभयो ।

सङ्घीय र प्रदेश सरकारको आपसी समन्वयमा प्रदेश अस्पताललाई अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा धेरै ठूलो लगानी भइसकेको बताउँदै उहाँले त्यसको दिगोपनमा ध्यान दिनुपर्ने बताउनुभयो । त्यसैगरी उपप्रधानमन्त्री यादवले आजै प्रदेश अस्पताल सुुुर्खेतको पुरानो तथा तीन श्ययाको नवनिर्मित भवनको पनि अवलोकन गर्नुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन कर्णाली सरकारले यस क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो । नागरिकको स्वास्थ्य सेवामा सबै तहका सरकारको भूमिका प्रधान हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “प्रदेश सरकारले यहाँको नागरिकहरुको जीवन रक्षाका लागि आपत्कालीन स्वास्थ्य सेवा प्रवाह गरेको छ । मूलत ः जनशक्ति आपूर्ति र उपकरण व्यवस्थामा सङ्घीय सरकारले गम्भीर भएर सोच्नु पर्दछ ।”

प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले समायोजनका कारण कर्णालीमा चिकित्सकको अभाव भएको बताउनुभयो । “समायोजनमा सबै चिकित्सक सङ्घले लिइसकेको छ,” मेसु डा खड्काले भन्नुभयो, “अहिले प्रदेश र स्थानीय तहमा डाक्टरहरुको खाँचो बढ्दै गएको छ ।” प्रदेश अस्पतालले तीन सय श्ययाको नयाँ भवन बनाइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, “अब सङ्घीय सरकारले दरबन्दी अनुसारको चिकित्सक र आवश्यक उपकरण उपलब्ध गराउने अपेक्षा गरेका छौँ ।” यसो हुन नसके सङ्घीयताले कर्णालीलाई छुन नसक्ने उहाँको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस्