Logo

दूषित पानी पिउँदा गाँउनै बिरामी



तम्घास, १३ वैशाख ।गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन् ।बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य छको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जनाकारी दिनुभएको छ ।

बिरामी परेकामध्ये स्थानीय कुमारी सिंजालीको अवस्था गम्भीर रहेको बताइएको छ । उक्त ठाउँमा अचानक मङ्गलबार केही मानिस सामान्य रुपमा बिरामी परेको र त्यसपछि विस्तारै मानिस बिरामी पर्दै जान थालेपछि नगरपालिकाले बिहीबार जिल्ला जनस्वास्थ्यको टोलीलाई खबर गरेपछि जिल्ला जनस्वास्थ्यको टोली उक्त क्षेत्रमा पुगेर शिविर सञ्चालन गरी बिरामीको उपचार गरेको थियो ।

दूषित पानी सेवन गरेका कारण बिरामी परेका अधिकांश मानिसमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत महेश श्रेष्ठले बताउनुभयो । दूषित पानीका कारण मानिस बिरामी परेपछि मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले उक्त पानी कसरी दूषित भयो भन्नेबारेमा पानीको परीक्षण गरिने बताउनुभयो ।

उक्त ठाउँमा फैलिएको झाडापखाला अहिले नियन्त्रणमा आएको र सामान्य बनेको बताइएको छ । जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले स्थिति सामान्य बन्दै गएको भन्दै बिरामी थप उपचार गरेर सदरमुकाम तम्घास फर्किएको बताएका छन् । उक्त ठाउँमा अहिले स्थानीयस्तरमा रहेका छ स्वास्थ्यकर्मी अस्थायी शिविरमा रहेका बिरामीको रेखदेखमा खटिएका छन् । खानेपानीको समस्या भएको उक्त ठाउँमा नुरखोलाबाट बगेको दूषित पानी स्थानीयवासीले उपभोग गर्न बाध्य बनेको स्थानीय हरि छन्तेलले बताउनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्