Logo

गोरखा सैनिकका उचित माग सम्बोधन हुने विश्वास



काठमाडौं,२३ बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले गोरखा सैनिकका उचित माग सम्बोधन गर्न बेलायत सरकारले उदारता र लचकता अपनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

आफूसँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसले आज गर्नुभएको शिष्टाचार भेटमा उपराष्ट्रपति पुनले आधुनिक बेलायत निर्माणमा गोरखा सैनिकको ठूलो योगदान रहेको उल्लेख गर्दै गोरखा सैनिकका लागि बेलायत सरकारले हालै सार्वजनिक गरेको सुविधा प्याकेज स्वागतयोग्य रहेको बताउनुभयो ।

बेलायत नेपालको ठूलो विकास साझेदार मुलुकका रुपमा रहेको स्मरण गर्दै उहाँले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएकाले यहाँ लगानीका लागि प्रोत्साहन गरिदिन आग्रह गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो ।

भेटमा बेलायती राजदूत मोरिसले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यप्राप्तिका लागि सहयोग गर्न बेलायत सधैँ तयार रहेको बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि बेलायती युवा व्यवसायीले नेपालमा लगानी गर्न चाहिरहेको उल्लेख गर्दै दुई देशका युवा व्यवसायीबीच अन्तक्र्रिया गराउनुपर्ने बताउनुभयो ।

बेलायतको समृद्धिका लागि गोरखा सैनिकले पु¥याएको योगदानप्रति बेलायत सरकार नतमस्तक भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बेलायती गोरखाले विश्वमा कायम गरेको प्रसिद्धिप्रति हामी नतमस्तक छौँ ।” गोरखा सैनिकका लागि बेलायतले विशेष प्याकेज ल्याएको जानकारी गराउँदै राजदूत मोरिसले गोरखा सैनिकका धेरै समस्या समाधान भएका र बाँकी समस्या रहे समाधान हुँदै जाने विश्वास दिलाउनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्