प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनी भ्रमणवर्षमा सिङ्गो प्रदेश जोडिने बताउनुभएको छ ।
लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसारका क्रममा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लुम्बिनी भ्रमण वर्ष नाम भए पनि प्रदेशका सबै क्षेत्रलाई समेटिएको दाबी गर्नुभयो । “नाम लुम्बिनी भ्रमण वर्ष हो तर यसमा प्रदेशका सबै स्थान समेटिएका छन््”, उहाँले भन्नुभयोे, “लुम्बिनीलाई केन्द्रमा राखेर मानसरोवरसम्म पर्यटक पु¥याउने योजना हाम्रो हो ।”
पर्यटकीय क्षेत्रको प्रचार गर्ने शैलीको कमी रहेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई परिवर्तन गर्दै पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्य भ्रमण वर्षको रहेको उहाँको भनाइ छ । लुम्बिनी भ्रमण वर्षले नेपाल भ्रमण वर्षलाई समेत सघाउने मन्त्री गिरीले उल्लेख गर्नुभयो ।
काठमाडौँमा आउने पर्यटक पोखरा र सौराहा मात्रै नभई लुम्बिनीसहित प्रदेश ५ हुँदै सुदूरपश्चिमसम्म पनि पु¥याउने लक्ष्य राखिएको उल्लेख गर्दै उहाँले भ्रमण वर्षले पर्यटकीय वातावरण सिर्जना हुने र पर्यटकको बसाइ अवधि लम्बिनेसमेत विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी आउने पर्यटकलाई दाङ उपत्यका, स्वर्गद्वारी, बाँके, बर्दिया राष्ट्रिय निकुञ्जसहित घरबासहरुमा घुमाउने अभियानसमेत रहेको उहाँको भनाइ थियो ।
लुम्बिनी भ्रमण वर्षका अवसरमा प्रदेश सरकारले प्रदेशभरकै पर्यटकीय गन्तव्यको चिनारी गराउने उद्देश्य रहेकोे प्रचारप्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी आउने पर्यटकको बसाइ अवधि लम्ब्याउनका लागि कपिलवस्तु, रामग्रामसहितका पर्यटकीय क्षेत्रको प्रचार र विकास गर्ने योजनासमेत रहेको छ । लुम्बिनी भ्रमण वर्षकै अवसरमा लुम्बिनीमा मायादेवी प्रसूति उत्सव गरिँदैछ । बौद्धकालीन खाना प्रदर्शनीसहित लुम्बिनी फेस्टिभल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वल, पूर्णिमा उत्सवलगायत कार्यक्रम हुने आचार्यले बताउनुभयो ।