Logo

सुरक्षासँगै विकासको काममा अगाडि बढ्छौँ : प्रहरी महानिरीक्षक



नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षासँगसँगै विकासको काममा अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण भएको हिरासत कक्षसहितको ब्यारेक भवन, अगुवा प्रहरी अधिकृत आवास र भान्सा घरको आज उद्घाटन गर्दै उहाँले विभिन्न अपराधको वर्गीकरण गरेर अपराधीका रुपमा भन्दा पनि उनीहरुलाई सामाजिकीकरण गर्दै सुधार गरेर अगाडि बढाउनुपर्ने बताउनुभयो । कारागारलाई सुधार केन्द्रका रुपमा विकास नगर्दा अपराधीले भित्रैबाट अखडा खडा गरी टेलिफोनमा धम्की दिएर विकास निर्माणका काममा असर पारेको खनालको भनाइ थियो । “प्रहरीले सुरक्षासँगै विकास निर्माणको काममा अगाडि बढ्नुपर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो ।

सङ्घीय संरचनाअनुसार प्रहरीले त्यही अनुसारका कार्यक्रम अगाडि सारिसकेको र अहिले प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्न तीन÷तीन लाख रकम पठाइसकेको खनालले बताउनुभयो । उहाँले स्थानीय सरकारसँग मिलेर शहरमा सिसिटिभी राख्ने काम शुरु भएको उल्लेख गर्दै त्यसले अपराध नियन्त्रण र अनुसन्धान गर्ने मात्रै नभई विकास निर्माणको काममा बाधक तत्वहरु के के छन् भनेर हेर्ने र कसले फोहर फाल्यो भन्नेसम्मको काम गर्ने भएकाले त्यस्तो काममा स्थानीय सरकार र प्रहरीसँगसँगै जानुपर्ने बताउनुभयो । विकास निर्माणको काम कुनै पनि कारणले ९गलत तत्वहरु आएर थर्काए भन्ने कारणले० रोकिन नहुने महानिरीक्षक खनालको भनाइ थियो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले अबको युगमा प्रहरी बाटोको चोकमा बस्ने नभई डिजिटल प्रविधिको प्रयोग गरी कन्ट्रोल रुमबाटै शान्तिसुरक्षा व्यवस्थापनको निरीक्षण गर्ने काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रहरीले हिरासतमा राखिएकालाई पनि सुधार्ने, सीपयुक्त बनाउने र चेतनामा परिवर्तन ल्याउनेमा अगाडि बढ्नुपर्ने बताउनुभयो । नयाँ भवनको ६ कोठामा एक÷एक टेलिभिजन राख्न नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलको ब्यारेक भवन भूकम्पले भत्काएपछि सरकारको नियमित बजेट र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा पुनर्निर्माण गरिएको हो । रु ६ करोड ८४ लाख २० हजारको लागतमा पाँच भवन निर्माण गरिएको प्रहरी नायब निरीक्षक ईश्वर थापाले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्