काठमाडौं २७ बैशाख । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सिता दाहालले विवाहको ५० औं वर्ष पुगेको अवसरमा पुनःविवाह गरेका छन् । सिताको स्वास्थ्य बिग्रदै गएकाले उनलाई मनोवैज्ञानिक रुपमा उपचार गर्न परिवारले ‘५० औँ वैवाहिक वर्षगाँठ’ कार्यक्रम आयोजना गरेको हो ।
ललितपुरको सुनाकोठीस्थिति एक निजी घरमा वैवाहिक वार्षिकोत्सव कार्यक्रम गरिएको थियो । पुष्पकमल र सिता दाहाल दुवै दुबोको मालामा सजिएका थिए । मञ्चमा दुवै जनाको दाया बाँया छोरीहरु रेणु र गंगा दाहाल बसेका थिए । साडी चोलोमा सजिएकी सिताको अनुहारमा धेरै चमक थिएन । पुष्पकमल टाईसुटमा थिए । पत्नीको अवस्थाका कारण उनी पनि धेरै हसिंला थिएनन् । मञ्चमा उनीहरुले दुबोको मालासँगै फुलको माला आदानप्रदान गरे ।
Citizen
वैवाहिक माहौल बनाउन पञ्चैबाजा व्यवस्था गरिएको थियो । ‘सहयात्राको ५० वर्ष’ लेखिएका ब्यानर सजाइएको थियो । ५० वर्ष उल्लेख गरेको केक काटिएको थियो ।
दाहालको बैवाहिक वार्षिकोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्रीहरु ईश्वर पोखरेल, उपेन्द्र यादव लगायत मन्त्रीहरु सहभागी थिए । नेकपाका स्थायी समिति र केन्द्रीय समितिमा रहेका नेता, व्यापारी, व्यवासायीलाई पनि निम्त्याइएको थियो । उनीहरुले दाहाल दम्पतिलाई स्टेजमा गएर शुभकामना दिएका थिए ।
पुष्पकमल र सिता दाहालको २०२६ बैशाख २६ मा विवाहको थियो । पन्ध्र वर्षको उमेरमा पुष्पकमलले सितासँग मागी विवाह गरेका थिए । सितालाई ‘प्रोग्रेसिभ सुरान्यूक्लियर पाल्सी (पिएसपी) भन्ने रोग लागेको छ । पूर्ण रुपमा निको नहुने रोग भएकाले बढ्न नदिन विभिन्न थेरापी गर्नुपर्छ । खुसी बनाउने एक प्रकारको थेरापीकै रुपमा वैवाहिक वर्षगाँठ कार्यक्रम गरिएको परिवारले जनाएको छ ।