Logo

संसद्मा विधेयक पेश भएको छैनः मन्त्री बाँस्कोटा



सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा पेश भएको भनिएको प्रेससम्बन्धी विधेयक नभएको बताउनुभएको छ । हेटौँडामा डिजास्टर रिकभरी केन्द्रको उद्घाटनमा उहाँले उक्त विधेयक छलफलका लागि मात्र तयार गरिएको स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले पत्रकारलाई कागले कान लग्यो भन्दैमा कागको पछाडि नदर्गुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रमको खेती गर्नु राम्रो होइन र त्यो टिक्दैन, पत्रकारले जे सत्य हो त्यही लेख्नुपर्छ ।” उहाँले अन्य राष्ट्रका सञ्चारप्रणाली र नीति अध्ययन गरेर कानून बनाइने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र नरहने भएकाले प्रजातान्त्रिक देश नेपालमा प्रेस स्वतन्त्रता हनन् भयो भन्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँ प्रेस स्वतन्त्रता हुन्न, त्यहाँ लोकतन्त्र हुन्न, अनि लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन् भयो भनेर कराउन पर्ने अवस्था कहाँबाट आयो रु”

नेपालमा पूर्ण प्रेस स्वतन्त्रतता रहेको बताउँदै उहाँले अन्य मुलुकमा स्वतन्त्रता मात्र छ तर नेपालमा पूर्ण रुपमा स्वतन्त्रतता छ भन्नुभयो । मन्त्री बाँस्कोटाले पहिलाको भन्दा प्रेस स्वतन्तता सुरक्षित र गर्विलो रहेको बताउनुभयो । उहाँले मिडिया हाउसको जग आर्थिक रुपले बलियो हुनुपर्ने र पत्रकारले काम गरेपछि ज्याला पाउनुपर्ने जिकिर गर्नुभयो ।

नेपालमा मिडियामा हुने विदेशी लगानी बन्द गरिने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले मिडियामा गरिने लगानी तरकारीको कारोवार जस्तो होइन भन्नुभयो । उहाँले सिंहदरबारमा मात्र रहेको डाटा सेन्टरलाई क्रमिक रुपमा अन्य प्रदेशमा पनि स्थापना गरिने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्