Logo

विद्यालयलाई २४ रोपनी जग्गा सहयोग



सामुदायिक विद्यालय सञ्चालनका लागि कि त सरकारी अनुदान कि त महायज्ञ वा अन्य कुनै कार्यक्रम गरेर पैसा सङ्कलन गर्ने प्रचलन छ ।

तर यहाँका एक वृद्धले भने आफ्नो गाउँमा सामुदायिक विद्यालय सञ्चालनका लागि पैतृक सम्पत्ति दान गर्नुभएको छ । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीका शेरबहादुर गुरुङले स्थानीय दुई विद्यालयको भौतिक पूर्वाधारलगायत दिगो आम्दानीका लागि आफ्नो २४ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

गुरुङले जन्मगाउँमा रहेका दुई सामुदायिक विद्यालयका लागि आफ्नो सबै खेतबारी प्रदान गर्नुभयो । फलामखानी आधारभूत विद्यायलाई १० रोपनी र मदन आश्रित माध्यमिक विद्यालयलाई १४ रोपनी जग्गा प्रदान गर्नुभएको हो ।

जिल्लाको विकट गाउँमा रहेका यी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आयआर्जन गर्न सकिने खालका फलफूल, जडीबुटी वा रुखबिरुवा र घाँस बिक्री गरेर आम्दानी गर्न सकुन् भनेर आफ्नो खेत, बारी र खरबारी तथा वनसमेत विद्यालयलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

हाल रूपन्देहीको मणिग्राममा बस्दै आउनुभएका जग्गादाता गुरुङले शिक्षा क्षेत्रको विकास भए मात्र समाज समृद्ध हुने ठानेर विद्यालयका लागि जग्गा प्रदान गरेको जानकारी दिनुभयो ।
पूर्व राष्ट्रियसभा सदस्यसमेत रहनुभएका गुरुङले आफू जन्मेका गाउँका विद्यालयमा गुणस्तरीय पढाइ सञ्चालन गरी स्थानीयवासीलाई गाउँमै बस्ने वातावरण सिर्जना होस् भनेर जग्गा प्रदान गरेको बताउनुभयो ।

यसैबीच विद्यालयलाई जग्गा र नगद उपलब्ध गराएको तथा गाउँको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै जग्गादाता गुरुङलाई दुवै विद्यालयले मङ्गलबार सम्मान पनि गरेका छन् । कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गुरुङले जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुभएको थियो ।
समाज सुधार गर्ने अभियानमा किशोरी

पर्वतको पैंँयु गाउँपालिका–७ भोर्लेमा गठन भएको जनजागरण युवा महिला समूहका सदस्य साप्ताहिक रूपमा बैठक बस्छन् । वडाका बस्ती र टोलटोलमा पुगेर सरसफाइ गर्छन् ।

गाउँमा बालविवाह, महिला हिंसादेखि टोलबस्ती फोहर भएपछि समूहका सदस्य आफ्नो गाउँटोलमा भएका समस्या समाधानका लागि लागिपरेका छन् । भेला र बैठक तथा अभियानमा नआउनेलाई समूहका सदस्यले जरिवानासमेत तिराउने गरेका मात्रै छैनन् उठेको जरिवानाबाट डस्टबिन खरीद गरी टोलटोलमा वितरणसमेत गरिएको छ ।

नवजागरण युवा महिला समूहका सदस्य मात्रै होइन, पैँयु गाउँपालिका–६ सरौंखोलाको पैँयु युवा महिला समूहका सदस्यले पनि देउसीभैलो खेलेर आर्थिक सङ्कलन गरेर जम्मा भएको रकमले एक विद्यार्थीलाई विद्यालय पठाएका छन् । लामो समयदेखि विद्यालय जान छाडेर बसेकी बालिकाको उनीहरु सामूहिक रुपमा अभिभावक भएका छन् र स्टेशनरीदेखि पोशाकसम्म किनिदिएका छन् । “हामी पनि विद्यालय पढ्ने विद्यार्थी हौँ”, समूहकी सदस्य मुना चापागाई्रले भन्नुभयो, “खाजा खर्च कटाएर भए पनि केही सुधारका काम गरौँ भन्ने लाग्छ ।”रासस



प्रतिक्रिया दिनुहोस्