Logo

शशी थरुरद्धारा चुनावी मतसर्वेक्षणको नतिजा अस्वीकार



नयाँदिल्ली, ६ जेठ । भारतीय कङ्ग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गर्नु भएको छ । उहाँले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताउनुभयो ।

“चुनावी मतसर्वेक्षण सबै गलत रहेको मेरो बुझाई छ । गतसाता अस्ट्रेलियामा सम्पन्न ५६ विभिन्न मतसर्वेक्षण सबै गलत साबित भएका थिए । भारतमा पनि धेरै मानिसले सर्वेक्षकलाई सबै कुरा बताउँदैनन् । वास्तविक परिणाम त आगामी बिहीबार मात्र थाहा हुनेछ,” थरुरले ट्वीट गर्दै भन्नुभएको छ ।

एक अर्को ट्वीटमा नेता थरुरले मतसर्वेक्षणमा आएका काल्पनिक संख्याका बारेमा निरर्थक बहस गर्नुको कुनै औचित्य छैन भन्नुभएको छ ।थरुरझैं धेरैजना विपक्षी नेताहरुले मतसर्वेक्षणका नतिजाप्रति आपत्ति जनाएका छन् । नेसनल कन्फ्रेन्सका नेता ओमर अब्दुल्लाहले टिभी र सोसल मिडिया बन्द गरेर आगामी बिहीबारको दिनलाई पर्खनु नै बुद्धिमानी हुने बताउनुभयो ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले पनि चुनावी मतसर्वेक्षणले आम मानिसको भावनालाई समेट्न नसकेको बताउनुभएको छ । हरेक पटकका मतसर्वेक्षणहरु सही नभएका र धरातलीय यथार्थबाट टाढा रहेको पाइएको छ, नायडुले भन्नुभयो । “आफ्नो पार्टी टिडीपीले आन्ध्र प्रदेशमा जित्ने कुरामा कुनै शंकै छैन, भारतीय जनता पार्टी बाहेकको सरकार केन्द्रमा बन्दैछ ।”

टेलिभिजन च्यानलमा प्रसारित सबैजसो चुनावी मतसर्वेक्षणले भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० ले नै केन्द्रमा सरकार बनाउने आँकलन गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी सरकारको नेतृत्व गर्ने सर्वेक्षणमा देखाइएको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्