Logo

प्रदूषण नियन्त्रण विशेष प्राथमिकतामा छः मन्त्री बस्नेत



वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषण नियन्त्रण सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ । विश्व वातावरण दिवस, २०७६ लाई सप्ताहव्यापीरुपमा मनाउने सन्दर्भमा मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा उहाँले वातावरण स्वच्छताको अभियान सरकारले सबैको सहभागितामा अघि बढाउने धारणा व्यक्त गर्नुभयो ।

वातावरण संरक्षणको विषय विकासको अवरोधका रुपमा नभई दिगो विकासका लागि भएको उल्लेख गर्दै मन्त्री बस्नेत भन्नुभयो, “हामीले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रियालाई सरलीकरण गर्नुका साथै प्रदेश र स्थानीय तहका आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धित तहबाटै हुने व्यवस्था प्रस्ताव गरेका छौँ ।”

मन्त्रालयले सङ्घीयताको भावनाअनुरुप वनको हस्तान्तरण र कर्मचारीको व्यवस्था प्रभावकारी ढङ्गले गरेको अवगत गराउँदै उहाँले यो वर्ष विशेष अभियानका रुपमा वृक्षरोपण गरिने योजना रहेको जानकारी गराउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले वातावरण दिवसका माध्यमबाट वातावरण स्वच्छताका विषयमा आमजनतामा जनचेतना अभिवृद्धि गरी कार्यक्रम गर्र्नुपर्ने सुझाव दिनुभयो । उहाँले प्रदूषणका कारण मानव स्वास्थ्यमा परेको असरका बारेमा गहन अध्ययन गरी समाधानका उपाय पहिल्याउन आवश्यक रहेकामा जोड दिनुभयो ।

वन सचिव डा विश्वनाथ ओलीले वातावरण दिवसका ‘जुन ५’ का अवसरमा दुईदिने राष्ट्रिय गोष्ठीको आयोजना गरी वातावरण संरक्षण विषयका १० कार्यपत्र प्रस्तुत गरिने र सप्ताहव्यापीरुपमा अन्य विभिन्न कार्यक्रम गरिने जानकारी गराउनुभयो । दिवस मनाउन प्रदेश र स्थानीय तहलाई पनि आग्रह गर्ने बताउँदै सचिव डा ओलीले वातावरण क्षेत्रमा आवश्यक नीति र कानून अघि बढाइएको अवगत गराउनुभयो ।

कार्यक्रममा मन्त्रालयको वातावरण विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले वातावरण विषय सबैका लागि भएकाले मन्त्रालयसँगै सरकारका अन्य निकाय र सङ्घसंस्थाले पनि चासो दिएर सक्रिय सहभागिता जनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले स्वच्छ वातावरण निर्माणका लागि सबै तहका सरकार र सरोकारवाला सबैको प्रतिबद्धता आवश्यक रहेकामा जोड दिनुभयो । ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले वातावरण सुधारका लागि नीति र विधिसँगै प्रवृत्तिमा सुधारको आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा वातावरण क्षेत्रसँग सम्बन्धित सङ्घसंस्था र सञ्चारकर्मीले वातावरण क्षेत्रमा देखिएका समस्याका बारेमा अवगत गराउँदै समाधानका उपायबारे सुझावसमेत दिनुभएको थियो ।

वृक्षरोपण

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौँको मनोहरा खोला किनारमा वृक्षरोपण कार्यक्रम गरेको छ ।

वनमन्त्री शक्तिबहादुर बस्नेतले चापको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा मन्त्रालयका सचिव डा विश्वनाथ ओली, विभिन्न महाशाखाका प्रमुख, संरक्षणविद् तथा स्थानीयले पनि वृक्षरोपण गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्री बस्नेतले मानव जीवनको अस्तित्वका लागि जैविक विविधताको उच्च महत्व रहेको चर्चा गर्दै सरकार, सरोकारवाला र आम नागरिकको सहभागितामा यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सरकार एक्लैले जैविक विविधता संरक्षण गर्न नसक्ने भन्दै उहाँले आम नागरिकको सहभागिताका लागि अपिल गर्दै भन्नुभयो, “सरकारले नेतृत्व लिन्छ, स्थानीय समुदाय र निजी क्षेत्रले सरकारलाई सघाउनुपर्छ ।”

सरकारले जैविक विविधता संरक्षणलाई आफ्नो प्राथमिक कार्यसूचीमा राखेको भन्दै उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा पर्याप्त ध्यान दिइएको जानकारी दिनुभयो । सन् १९९२ मे २२ का दिन ब्राजिलको ‘रियो दि जेनेरियो’मा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा विश्वभर मनाइँदै आइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्