Logo

उपराष्ट्रपति आइतबार अष्ट्रिया जाँदै



अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जानुहुने भएको छ । यही जेठ १४ मा हुने आर २० नामक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन त्यसतर्फ जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । उहाँसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि रहनुहुनेछ ।

उपराष्ट्रपति पुन सोमबार भियना अन्तरराष्ट्रिय केन्द्रको ४० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ । सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिको केन्द्रका रुपमा रहेको छ । सोही दिन साँझ उहाँ अष्ट्रियाका फेडरल चान्सलर सेबास्तियन कर्जले आयोजना गर्ने स्वागत समारोहमा समेत सरिक हुने कार्यक्रम छ । उहाँसँगै विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रतिनिधिमण्डलका प्रमुख सो समारोहमा सहभागी हुने बताइएको छ ।

सम्मेलनको पहिलो दिन उपराष्ट्रपति पुनले जलवायुसम्बन्धी एउटा सत्रमा सम्बोधन गर्नुहुनेछ । सो सत्रमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख सहभागी हुनुहुनेछ । सोही दिन उहाँ भियनाका राष्ट्रपति बेलेनद्वारा आयोजित दिवा भोजमा सरिक हुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीहरुको सहभागितामा गोलमेच सम्मेलनसमेत हुनेछ । सोही साँझ संयुक्त राष्ट्र सङ्घको भियनास्थित कार्यालयका आवासीय प्रतिनिधि÷राजदूत प्रकाशकुमार सुवेदीद्वारा आयोजित रात्रिकालीन भोजमा उहाँ सहभागी हुने कार्यक्रम छ । भियनामा रहँदा उपराष्ट्रपति पुन अन्तरराष्ट्रिय सगरमाथा दिवमा समेत सहभागी हुनुहुनेछ । उपराष्ट्रपति पुन जेठ १७ गते स्वदेश फर्कनुहुनेछ । रासस



प्रतिक्रिया दिनुहोस्