Logo

शिक्षाका १५६ कर्मचारी छड्केमा



राष्ट्रिय सतर्कता केन्द्रले शिक्षाका चार कार्यालयमा आज अनुगमन गर्दा १५६ कर्मचारी छड्केमा परेका छन् ।केन्द्रको अनुगमन टोलीले पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानवस्रोत केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र राष्ट्रिय परीक्षा बोर्डको अनुगमन गर्दा ती कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो । कार्यालयको समय पालना नगर्ने तथा पोशाक नलगाउने कर्मचारी कारवाहीमा परेका हुन् । कारवाहीका लागि सिफारिस गरिएकामध्ये ९८ ले समयको पालना नगरेको तथा ५८ ले पोशाक नलगाएको पाइएको छ ।

छड्केमा परेका कर्मचारीलाई प्रचलित नियमअनुसार सम्बन्धित कार्यालयलाई कारवाहीका लागि सिफारिस गरिएको लामिछानेले बताउनुभयो । पाठ्यक्रम विकास केन्द्रमा समयको पालना नगर्ने सात जना, पोशाक नलगाउने एक जना, मानवस्रोत केन्द्रका समय पालना नगर्ने ११ र पोशाक नलगाउने चार जना, परिषद्का समय पालना नगर्ने ४० र पोशाक नलगाउने ३७ जना तथा परीक्षा बोर्डका समय पालना नगर्ने ४० र पोशाक नलगाउने १६ जनालाई कारवाहीका लागि सिफारिस गरिएको छ । यसैगरी सतर्कता केन्द्रले अहिलेसम्म ४४ जिल्लाका ८३१ सरकारी कार्यालयमा अनुगमन गर्दा दुई हजार २५९ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्