Logo

‘ट्याक्सी व्यवसायलाई मर्यादित बनाउनुपर्ने’



काठमाडौँ, ११ जेठ । यात्रुलाई सुरक्षितरुपमा गन्तव्यस्थलसम्म पु¥याउने माध्यामका रुपमा रहेको ट्याक्सी व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताइएको छ । नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घको आठौँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा ट्याक्सी व्यवसायलाई मर्यादित र संरक्षित पेशाका रुपमा अगाडि बढाउनुपर्ने बताइएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा ट्याक्सी राख्ने स्थान निर्माणका लागि महाशाखाले महानगरपालिकासँग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो । “जति राम्रो सेवा दिनुहुन्छ, त्यति नै व्यवसाय राम्रो हुन्छ, त्यसैले सेवाग्राहीलाई राम्रो सेवा प्रवाह गर्न लाग्नुहोस्”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले ट्याक्सी व्यवसायका क्रममा देखिएका समस्या समाधानका लागि व्यवसायी एकजुट हुनुपर्ने बताउनुभयो । “ट्याक्सीबाट हुने ठगी नियन्त्रणका लागि सरकारले वैज्ञानिक भाडा कायम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले एम्बुलेन्सको सेवा दिने ट्याक्सी व्यवसायलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले गैरकानूनी ढङ्गले सञ्चालन भएको टुटल र पठाओलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । ट्याक्सी व्यवसायलाई मर्यादित बनाउन ट्याक्सी चालक सच्चिनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल स्वतन्त्र मजदूर युनियनका अध्यक्ष सोम तामाङलगायतले व्यवसायी र मजदूर मिलेमात्र ट्याक्सी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने बताउनुभयो ।

सो अवसरमा यातायात सरोकार टेलिभिजन कार्यक्रमले पु¥याएको योगदानको कदर गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय सल्लाहकार तथा सो टेलिभिजन कार्यक्रमका प्रमुख कार्यकारी निर्माता शिव अधिकारी र राष्ट्रिय समाचार समिति ९रासस०का समाचारदाता अच्युत रेग्मीलाई सम्मान गरिएको थियो ।

विसं २०४४ पुस १४ गते स्थापना भएको सङ्घले समयानुसारको भाडा वृद्धि, ट्याक्सी पार्किङ गर्न आवश्यक स्थान निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको सङ्घका अध्यक्ष अर्जुन गौतमले जानकारी दिनुभयो । सरकारको निर्णयअनुसार समिति प्रालिमा दर्ता गर्नुपर्ने प्रावधानअनुसार उक्त सङ्घ ‘नेपाल मिटर ट्याक्सी सेवा प्रालि’ मा रुपान्तरण गरिने भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्