नेपाल प्रहरीले देशभरका विभिन्न भागबाट शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको समूहले आह्वान गरेको भनिएको नेपाल बन्दका क्रममा शङ्कास्पद गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले काठमाडौँबाट सात, ललितपुरबाट चार, रुकुमपश्चिमबाट एक, झापाबाट एक र सुर्खेतबाट दुईजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताउनुभयो ।
बन्दका क्रममा देशभरका विभिन्न छ स्थानमा सवारी साधनमा आगजनी भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार मकवानपुरमा दुई, सुर्खेतमा एक, नवलपरासी पूर्वमा एक, कालीकोटमा एक र रामेछापमा एक सवारी साधनमा आगजनी भएको छ । आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।