काठमाडौं १६ जेठ । बीमांक लिन चोेरी भएको नाटक गरेपछि प्रहरीले काठमाडौं बाफलका ६६ वर्षीय देवराज खड्कालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
प्रहरीका अनुसार ३२ लाख १० हजार रुपैयाँ मूल्यबराबरको विभिन्न ब्रान्डका रक्सी चोरी भएको भन्दै उनले ६ जेठमा प्रहरी कार्यालयमा जाहेरी गरेका थिए । जाहेरीलगतै प्रहरी घटनास्थल पुगेको थियो । जाहेरीमा उल्लेख भएजस्तो चोरी नभएको खुलेपछि प्रहरीले जाहेरीवाला खड्कामाथि नै अनुसन्धान गरेको थियो ।
वृत्त प्रमुख डिएसपी देवेन्द्र पालले बिमाबापतको रकम लिन चोरीको नाटक गरेकोे खुलेको बताए । उनले भने, ‘रक्सी पसल चोरी भएको भन्दै हामी कहाँ उजुरी प-यो । अनुसन्धानमा प्रहरी खटिए । तर, चोरी भएको प्रमाण कतै भेटिएन । त्यसपछि अनुसन्धान जाहेरीवालामै केन्द्रित ग-यौँ । यसक्रममा उनैले चोरी नभएको बताए । कारण बुझ्दा बिमाबापतको रकम असुल्न नाटक गरेको खुल्यो ।’
प्रहरीका अनुसार उनको बाफलस्थित निजी घरको भुइँ तलामा दाजुभाइ मधुशालानामक रक्सी पसल छ । सोही पसलबाट विभिन्न १० ब्रान्डका एक सय ५० कार्टुन चोरी रक्सी भएको जाहेरीमा उल्लेख छ । घटनास्थल पुगेका प्रहरीले पसल आसपासका छिमेकीसँग बयान लियो । घरमा डेरा गरी बस्नेसँग पनि सोधपुछ ग¥यो । तर, चोरी भएको खुल्ने कुनै प्रमाण फेला परेन । त्यसपछि अनुसन्धान जाहेरीवाला खड्कामाथि केन्द्रित भएको थियो ।
डिएसपी पालले भने,‘ एक सय ५० कार्टुन रक्सी चोरी हुनु सामान्य विषय थिएन । यसका लागि ट्रक नै घटनास्थल पुग्नुपर्छ । जाहेरीमा उल्लेख भएको मितिमा यस्तो ट्रक आए–नआएको बुझ्यौँ । तर, ट्रक देख्ने व्यक्ति कोही फेला परेन । आसपासका छिमेकीसँग सोध्यौँ । उनकै घरमा डेरा गरी बस्नेसँग पनि सोध्यौँ । तर, प्रमाण फेला परेन । त्यसपछि मात्रै हामीले खड्कासँग सोधपुछ ग-यौँ । यही क्रममा घटना नक्कली रहेको खुल्यो ।’
प्रहरीका अनुसार केही महिनाअघि मात्रै उनले रक्सी पसलको बिमा लाइफ इन्स्योरेन्स कम्पनीमा गराएका थिए । त्यसलगतै बिमाबापतको रकम लिन उनले विभिन्न जुक्ति लगाउन थाले । चोरीको प्रतिवेदन पेस गर्दा बिमाबापतको रकम लिन सकिने निष्कर्षमा उनी पुगे । प्रतिवेदनका लागि उनले पसल चोरी भएको झुटो जाहेरी प्रहरीलाई दिए । डिएसपी पालले भने, ‘बिमाबापतको रकम लिन प्रहरीको सिफारिस आवश्यक पर्ने देखियो । यसैका लागि झुटो जाहेरी दिएको देखिन्छ । उनले विगतमा पनि यस्ता घटना गराएको हुन सक्छ । यस सम्बन्धमा थप अनुसन्धान जारी छ ।’