काबुल, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको कार बम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् ।गृह मन्त्रालयका प्रवक्ता नसरातुल्लाह राहिमीले क्वाला–ए–वाजिर इलाकामा रहेका विदेशी सैनिकमाथि लक्षित गरी बम बिस्फोट गराइएको जानकारी दिनुभयो ।
यो घटना काबुल शहरको पूर्वतर्फ काबुल–जलालाबाद सडकमा भएको छ ।स्थानीय समय अनुसार बिहान ८।४० मा भएको उक्त घटनाका घाइतेको उद्धार कार्य जारी रहेको पनि बताउनुभयो । निकै शक्तिशाली बम बिस्फोट भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने प्रवक्ता राहिमीले जानकारी दिनुभयो ।
विगत दुई दिनभित्र काबुलमा बिस्फोट गराइएको यो दोस्रो घटना हो । बिहीबार सैनिक कलेजलाई लक्षित गरी भएको बिस्फोटमा सात जनाको ज्यान जानुका साथै अरु छ जना घाइते भएका थिए ।उक्त दुबै घटनामा कसैले हालसम्म जिम्मेवारी लिएका छैनन्, तर अफगानिस्तानमा सक्रिय तालिबानी समूहको नै घटनामा संलग्नता रहेको आशंका गरिएको छ ।रासस