विमलबहादुर विष्ट–डोटी, १९ जेठ । सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा यहाँका अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् ।
डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित छतिवनमा रहेको छतिवन ताल उचित संरक्षण नहुँदा सङ्कटमा पर्न थालेको छ । पर्यटकीय महत्व बोकेको उक्त ताल संरक्षणको अभावमा दिनानुदिन सङ्कटमा पर्न थालेको स्थानीयवासी सिद्ध जेठाराले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय महत्व बोकेको ताल संरक्षण नगरिँदा दिनानुदिन ताल पुरिँदैछ समयमै संरक्षण नगरिए केही वर्षपछि ताल नै हराउने सम्भावना छ”, उच्च ठाउँमा रहेको उक्त तालमा कहाँबाट पानी आउँछ र कहाँ जान्छ भन्ने अहिलेसम्म कसैलाई जानकारी नभएको स्थानीयवासी बताउँछन् ।
समयमै उचित संरक्षण तथा संवद्र्धन नगरिँदा तालको अस्तित्वनै खतरामा पर्न थालेको छ । परापूर्वकालमा उक्त ताल भएको ठाउँमा रोपाइँ गर्ने खेत भएको र एक दिन रोपाइँको समयमा उक्त खेतमा माछा आउँदा रोपाइँ गर्ने किसानले उक्त माछा मार्दा खेतमा ठूलो भ्वाङ परी सबै रोपाहार त्यही भ्वाङमा परेर मरेको र तलाउ जमेको किंवदन्ती रहेको जोरायल गाउँपालिका–२ बुडरका समाजसेवी कर्णबहादुर मल्लले बताउनुभयो ।
अग्लो डाँडामा रहेको र पर्यटकलाई मोहनी लगाउने उक्त तालको संरक्षण र प्रचारमा स्थानीय तहको ध्यान नपुगेपछि तालको सुन्दरता र अस्तित्व नै सङ्कटमा पर्दै गएको बुडरका स्थानीय लोकबहादुर मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वरिपरि जङ्गल भएको र बीचमा अग्लो डाँडामा उक्त ताल भएकाले संरक्षण गरिए पर्यटकको आर्कषणको केन्द्र हुने थियो”, तालमा आवश्यक पूर्वाधार निर्माण गर्न विभिन्न निकायसँग समन्वय गरेको भए पनि कतैबाट सहयोग नमिलेको स्थानीयवासीको आरोप छ ।
जोरायल गाउँपालिकाको पहलमा उक्त तालमा एक डुङ्गाको व्यवस्था गरिए पनि डुङ्गा चलाउने व्यक्ति नभएका कारण डुङ्गा चलाउनसमेत कठिनाइ भइरहेको छतिवन पाततडाका स्थानीय रोहित बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले पर्यटक भित्र्याउने भन्दै डुङ्गाको व्यवस्था गरेको छ तर डुङ्गा चलाउने मान्छे छैन, चलाउने मान्छे नहुँदा बोट थन्किएको छ ।”
यो ताल सुदूरपश्चिम प्रदेशका आकर्षक गन्तव्यमध्येको एक हो, यसको विकासका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग पटक–पटक माग गरेको भए पनि यसको विकासका लागि खासै कसैले पनि ध्यान नदिएको बोहराको भनाइ छ ।
पछिल्लो समय त्यस क्षेत्रका विभिन्न विद्यालय तथा कर्मचारीको वनभोज तथा घुम्नका लागि प्रमुख गन्तव्यका रूपमा विकास हुन थालेको भए पनि स्थानीयवासीले यसको विकासमा चासो देखाएका छैनन् । स्थानीय सामुदायिक वनको बीचमा रहेको यो तालसम्म सडक सञ्जालसमेत जोडिएको छ ।
गाउँपालिकाले कुनै निश्चित योजना नबनाउँदा उक्त ताल अहिले पुरिदै जान थालेको छ । पहिले जति सुन्दर ताल देखिन्थ्यो, अहिले विस्तारै संरक्षणको अभावमा सङ्कटमा पर्दै गएको स्थानीयवासीको भनाइ छ । पहिले तालमा धेरै पानी जमेको देख्न पाइन्थ्यो भने अहिले विस्तारै तालको मोह घट्दै गएको बुडरका स्थानीयवासी तथा शिक्षक चन्द्र भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले ताल ठूलो थियो, पानी जमेको राम्रो देखिन्थ्यो, अहिले विस्तारै पुरिँदै छ र तालको आकार पनि घट्दै जान थालेको छ ।” उक्त ताल संरक्षण र व्यवस्थित गर्नमा स्थानीय सरकारको ध्यान नगएको भन्दै उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो ।
जिल्लामा रहेका अन्य दर्जनौँ बढी मुस्ताल, देउताल, खर्गताललगायतका अन्य विभिन्न तालको अस्तित्व पनि सङ्कटमा परेको स्थानीयवासीको भनाइ छ । तालको संरक्षणमा सम्बन्धित निकायको ध्यान नपुगेकाले तालको अस्तित्व गुम्दै गएको प्रति स्थानीयवासीको गुनासो छ ।
संरक्षण अभावमा तालमा जङ्गली झारपात र बुट्यानले ढाक्दै गएको पाइएको छ । घरेलु चौपाया र जङ्गली जनावरले फोहर गर्दा यहाँका तालको सौन्दर्य विस्तारै घट्दै गएको छ । जिल्लालाई आर्थिकरूपमा माथि उकासी राम्रो आम्दानी दिन पर्यटन विकास र स्थानीय स्रोतको प्रयोग जरुरी भए पनि डोटीमा भने पर्यटन विकासका लागि कुनै कार्यक्रम नहुँदा जिल्लावासी निराश भएका छन् ।
जिल्लाका यी ताल अहिले वन्यजन्तुका लागि पानी पिउने र चराचुरुङ्गीको बासस्थानको रुपमा प्रयोग भएको पाइएको छ । यहाँका तालले प्राकृतिक स्वरूप गुमाउँदै गएपछि चराचुरुङ्गीको बासस्थान पनि सङ्कटमा परेको स्थानीयवासीको भनाइ छ ।