Logo

कावा प्रम र स्विट्जरल्याण्डका राजदूत भेट



कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालस्थित स्वीटजरल्याण्डका राजदूत इलिजावेथ भोन क्याप्लरले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक, सामाजिक तथा दुई मुलुकबीचको सैन्य सहयोग आदान प्रदान तथा सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्रीले हालै नेपाल राजनीतिक रुपमा सङ्घीयतामा प्रवेश गरेको र कानुनी तथा प्रशासनिक संरचना निर्माण गर्ने क्रममा रहेको हुँदा स्विट्जरल्याण्डबाट आवश्यक सहयोगको अपेक्षा गर्नुभयो ।

उहाँले कृषि, पूर्वाधार, शैक्षिक तथा प्राविधिक शिक्षा एवं पछिल्लो समय स्थानान्तरित जनताका बारेमा स्विट्जरल्याण्डले गरेको योगदानप्रति प्रशंसा व्यक्त गर्नुभयो । साथै सैन्य क्षेत्रमा स्विट्जरल्याण्डले गरेको सहयोगको स्मरण गर्दै कावा प्रधानमन्त्रीले आगामी दिनमा दुई देशबीच सहकार्यका क्षेत्रलाई फराकिलो बनाउँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत क्याप्लरले नेपाल र स्विट्जरल्याण्ड बीचको छ दशकभन्दा अघिदेखिको मित्रतालाई निरन्तरता दिँदै नेपालले अघि सारेको आर्थिक विकास र समृद्धिको अभियानमा आवश्यक सहयोग गर्ने भावना व्यक्त गर्नुभएको रक्षा मन्त्रालय प्रवक्ता बाबुराम गौतमले जानकारी दिनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्