Logo

यूरोपमा ओलीको भाषण, रेल र पानीजहाजको कुरा देखि केबलकारको यात्रा



काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोप यात्रामा रेल र केबुलकारको यात्रा मात्र गरेनन् पानीजहाजको कुरा समेत चलाए । उनले केबलकारमा चढेर युरोपका सुन्दर हिमश्रृंखलाहरुको अवलोकन गरे ।
युरोपका शक्तिशाली देशका नेताहरुसँग भेट गरे । म्युजियम र अनुसन्धानस्थलको अवलोकन गरे ।

२५ जेठ देखि १ असार सम्म यूरोप भ्रमण र यात्रालाई छुट्याएका उनले जेनेभास्थित अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिककिो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । परराष्ट्र मन्त्रालयका अनुसार ओलीले बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरे ।

जेनेभामा ओली

२७ जेठमा जेनेभामा आयोजना गरिएको आइएलओको शतवार्षिकी समारोहको विशेषसम्मेलनलाई सम्बोधन गरे । नेपालले श्रमिककाहक अधिकारको स्थापना एवं समग्र श्रम क्षेत्रमा हासिल गरेको प्रगतिको बारेमा प्रकाश पारे।

भविष्यको कामका सन्दर्भमा आफ्नो धारणा राख्दै सामाजिक सम्वादको माध्यमबाट रुपान्तरण भएको उत्पादन सम्बन्धलाई दिगो बनाउन काम र जीवनबीच सन्तुलन आवश्यक रहेको बताए । सबै काम मर्यादित र सबै श्रमजीवि वर्ग संरक्षित हुनुपर्ने धारणा राखे । यसको लागि नेपालमा सबै प्रकृतिका काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याइएको र बजारलाई खुकुलो बनाइएको जानकारी समेत बताए।

जेनेभामा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति, नर्वेका प्रधानमन्त्री र स्वीट्जरल्याण्डका पूर्व राष्ट्रपति एवं वर्तमान गृहमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरे। भेटवार्ताहरुमा ती मुलुकहरुसँग रहिआएको सुमधुर सम्बन्धलाई अझ विकसित एवं प्रगाढ पार्दै आपसी हितका क्षेत्रहरुमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइएलओको १०८ औं सम्मेलनको साइडलाइनमा नेपाल र यूएई तथा मौरिससबीच छुट्टाछुट्टै द्विपक्षीय श्रम सम्झौता भएको छ ।

टर्कीस समकक्षीबीच भएको द्विपक्षीय भेटवार्तामा नेपाल र टर्कीबीच वैदेशिक रोजगारीको क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने र टर्कीमा कार्यरत नेपाली कामदारहरुले भोग्नुपरेको विभिन्न समस्याहरुको विषयमा छलफल भयो ।

ओलीको बेलायत यात्रा

प्रधानमन्त्री ओली जेठ २७ साँझ जेनेभाबाट बेलायत प्रस्थान गरे । सोही दिन अक्सफोर्ड विश्वविद्यालयस्थित अक्सफोर्ड यूनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति, विकास र लोकतन्त्रका विषयमा विचार प्रस्तुत गरे।

लोकतन्त्र र विकासको अन्योन्यास्रित सम्बन्धको चर्चा गर्दै नेपालको शान्ति प्रकृया र त्यसको उपलब्धी एवं सामाजिक तथा आर्थिक विकासका लागि वर्तमान सरकारले लिएको लक्ष्य र कार्यदिशाका बारेमा प्रकाश पारे ।

बेलायती प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री ओलीले जेठ २८ मा बेलायती समकक्षी तेरेसा मेसँग द्विपक्षीय भेटवार्ता गरे। भेटवार्तामा नेपाल बेलायत द्विपक्षीय सम्बन्धका समग्र पक्षहरुमा खुलारुपमा सघन छलफल भएको छ ।
दुबै प्रधानमन्त्रीहरुले आपसी हित र सहयोगका विषयहरुमा सहकार्य विस्तार गर्ने विषयमा समझदारी भएको छ । द्विपक्षीय व्यापार तथा लगानी वृद्धि, प्रविधि हस्तान्तरण, पर्यटन एवं जनस्तरको सम्बन्ध प्रवर्द्धनका विषयमा समेत दुई देशका प्रधानमन्त्रीहरुबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बेलायती सेनाका गोर्खा सैनिकहरुका विषयमा समेत छलफल गरे ।

सोही दिन ओलीले बेलायती राजकुमार ह्यारीसँग भेट गरे । सो अवसरमा भूकम्प पछिको पुनर्निर्माण कार्य, नेपालले जैविक विविधता एवं वन्यजन्तु संरक्षणमा हासिल गरेको उपलब्धी, नेपालले महिला तथा बालिका सशक्तिकरणको क्षेत्रमा गरेको प्रगति लगायतका विषयमा कुराकानी भयो ।

जेठ २८ मा प्रधानमन्त्रीले बेलायती संसदको अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपालका सदस्यहरुको संयुक्त भेलालाई सम्बोधन गरे । बेलायती संसदका विपक्षीदलका नेता श्री जेरेमी कोरबिनसँग भेटवार्ता गरे । उक्त सम्बोधन र भेटवार्तामा नेपाल बेलायत सम्बन्ध लगायत दुबै देशका संसदहरुबीच सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भयो ।

प्रधानमन्त्रीले सोही दिन अपरान्ह लण्डनस्थित ब्रिटेन उद्योग परिसंघको मुख्यालयमा आयोजना गरिएको एक कार्यक्रममा ब्रिटिश व्यापारी तथा लगानीकर्ताहरुको भेलालाई सम्बोधन गरे। सो क्रममा उनले नेपालमा अनुकूल लगानी वातावरण रहेकोले ढुक्क भएर लगानी गर्न बेलायतका लगानीकर्ताहरुलाई आव्हान गरे ।

प्रधानमन्त्रीले सोही दिन साँझ लण्डनको स्यान्डहर्सट स्थित ब्रिगेड अफ गुर्खाज हेडक्वार्टरको अवलोकन भ्रमण गरे । उक्त अवसरमा ब्रिटिश गोर्खाको तर्फबाट प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरिएको थियो ।
२८ जेठ को बिहान संयुक्त अधिराज्यस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधि, भूपु ब्रिटिश गोर्खासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरु लगायतका प्रवासी नेपाली संस्थाका प्रतिनिधिहरुसँग छलफल एवं अन्तरक्रिया गरे ।

लण्डनमा रहँदा सम्माननीय प्रधानमन्त्रीसँग इन्टरनेशनल म्यारिटाइम अर्गनाइजेशनका महासचिवले भेट गरे ।
उक्त अवसरमा नेपालले पानी जहाज कार्यालय स्थापना गरेको सन्दर्भमा उक्त संगठनबाट प्राप्त हुने प्राविधिक सहायता लगायत संगठनका गतिविधिहरुमा नेपालको सहभागिता सम्बन्धमा छलफल भएको थियो ।
सोही दिन बिहान लण्डनस्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गरे । उक्त कार्यक्रममा बेलायती विदेश मन्त्रालयका राज्यमन्त्रीको साथै बेलायती सांसदहरु, बेलायती नागरिकहरु र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

फ्रान्समा के गरे

प्रधानमन्त्री ओलीले जेठ २९ को मध्यान्ह लण्डनबाट फ्रान्सका लागि प्रस्थान गरी सोही दिन अपरान्ह पेरिसस्थित फ्रान्सेली उद्योग वाणिज्य महासंघको मुख्यालयमा आयोजित कार्यक्रममा उपस्थित फ्रान्सेली व्यापारिक समुदायका अगुवा एवं प्रतिनिधिहरुको भेलालाई सम्बोधन गरे ।

सोही क्रममा विभिन्न फ्रान्सेली कम्पनीहरुका उच्च अधिकारीहरुसँग छुट्टा छुट्टै भेटघाट समेत गरे । सम्बोधन तथा भेटघाटहरुमा प्रधानमन्त्रीले नेपालमा उपलब्ध लगानीका अवसरहरुका बारेमा जानकारी दिंदै नेपाल९फ्रान्स आर्थिक सहकार्यमा जोड दिए ।

जेठ ३० को अपरान्ह फ्रान्सेली समकक्षी इदोआर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गरे। सो अवसरमा नेपाल फ्रान्स द्विपक्षीय सम्बन्धको समग्र पक्षका बारेमा छलफल हुनुका साथै नेपाल फ्रान्स सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन आपसी हित र चासोका विषयमा सम्बन्ध विस्तार तथा सुदृढ गर्ने प्रतिवद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय भ्रमणहरुको आदान–प्रदान, राजनीतिक सम्बन्धको सुदृढीकरण लगायत द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन एवं सांस्कृतिक सम्बन्ध विकास जस्ता विषयहरुमा छलफल केन्द्रित रह्यो ।

सोही दिन बिहान पेरिसस्थित गुइमेट म्युजियमकोको अवलोकन भ्रमण एवं उक्त म्यूजियमका अध्यक्षसँग भेटवार्ता गरे। सो क्रममा उक्त संग्राहालयले नेपालको कलाको संरक्षण र संवर्द्धनमा पुर्याउन सक्ने योगदानका बारेमा कुराकानी गरे।

सोही साँझ सम्माननीय प्रधानमन्त्रीज्यूले फ्रान्सेली संसदमा गठन भएको फ्रान्स९नेपाल मैत्री समूहका अध्यक्षले उनको सम्मानमा आयोजना भएको रात्री भोजमा उपस्थित भई फ्रान्सेली सांसदहरुलाई सम्बोधन गरे ।

सो कार्यक्रममा दुई देशबीच रहिआएको सुमधुर सम्बन्धलाई थप प्रगाढ एवं विस्तार पार्ने कार्यमा संसदीय मैत्री समूहले खेल्नुपर्ने भुमिकाका बारेमा अन्तरक्रिया भयो । कार्यक्रममा फ्रान्सको तल्लो सदन नेशनल एसेम्बलीका अध्यक्षको पनि सहभागिता थियो ।

सोही दिन अपरान्ह पेरिसस्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोह एवं नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गरे । जेठ ३१ मा फ्रान्सको शामोनी मों ब्लाँ को भ्रमण गरी त्यहाँका मेयरले आयोजना गरेको स्वागत समारोहमा सरिक भए ।

सो अवसरमा त्यहाँ उपस्थित नेपालका शुभेच्छुक फ्रान्सेली मित्रहरु एवं पर्यटन व्यवसायीहरुलाई सम्बोधन गरे। प्रधानमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० अभियानको फ्रान्समा औपचारिक घोषणा गरे ।
फ्रान्सेली हिमश्रृंखला आल्पस रेञ्जमा पर्ने शामोनी मों ब्लाँ क्षेत्र नेपालको हिमाली भूभागसँग धेरै हदसम्म मिल्दोजुल्दो रहेको छ । सोही कार्यक्रममा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धको ७०औं वर्ष गांठका लागि नियुक्त सद्भावना दूत श्रृंखला खतिवडाले पनि सम्बोधन गरिन्। उक्त भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूले त्यहाँको केवल कारको अवलोकन भ्रमण समेत गरे।

जेनेभाबाट काठमाडौं प्रस्थान गर्नु अघि प्रधानमन्त्री ओलीले ३२ जेठ ३२ को बिहान युरोपका विभिन्न मुलुकहरुस्थित नेपाली राजदूतहरुको भेलालाई सम्बोधन गर्दै नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरु बमोजिम राष्ट्रिय हित प्रवर्द्धनका लागि अझ सशक्त र प्रभावकारीरुपमा सक्रिय हुन निर्देशन दिए।

जेनेभास्थित विश्व विख्यात भौतिक विज्ञान सम्बन्धी युरोपेली अनुसन्धान केन्द्रमा भैरहेको ब्रम्हाण्डको उत्पति सम्बन्धी अनुसन्धानको अवलोकन भ्रमण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्