Logo

रातारात दरखास्त फर्म किन बुझेन लोकसेवाले ? (भिडियो सहित)



काठमाडौं, २ असार ।  हजारौं युवाले लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा घेरा हालेका छन् । इन्टरनेटमार्फत् दरखास्त भर्दा गएरातिबाट लोकसेवा आयोगले नलिएको भन्दै घेरा हालेका हुन् । देशभरका पाँच सय १५ स्थानीय तहका लागि नौ हजार, एक सय ६१ सिटका लागि १५ जेठमा खोलिएको विज्ञापनको दरखास्त भर्ने ३ असार सम्म म्याद छ । इन्टरनेटमार्फत् भर्नुपर्ने दरखास्त फाराम नबुझेसम्म नफर्कने भन्दै युवाहरुले स्वतस्फूर्त नारावाजी समेत गरेका छन् । स्थिति अनियन्त्रित हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । लोकसेवा आयोगको मूल ढोकामा प्रहरीले कडा सुरक्षा दिइरहेको छ ।

के भन्छन् युवाअछामका बम बहादुर साउदले रातभर प्रयास गर्दा पनि दरखास्त भर्ने प्रक्रिया पूरा भएन । उनी विहान लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा बुझ्न आए । रुकुमका विषम बिष्टको समेत फर्म बुझेको छैन लोकसेवाले । उनी छटपटिदै लोकसेवा आयोगमा पुगे ।

स्थानीय निकायमा सेवाको सपना बोकेर पृथ्वी पुन मगरले फर्म भर्ने प्रयास गरे । उनी भन्छन्,‘रातभर नसुती फर्म बुझाउन इन्टरनेटमा बसे तर सकिनँ ।’ राजनीतिक खिचातानीमा आफूहरुलाई पार्न नहुने भन्दै यस्तै रवैया रहे गम्भीर अवस्था आउनसक्ने बताए ।

विज्ञापन अन्यौल

लोकसेवाको विज्ञापन रोक्ने नरोक्नेबारे सर्वोच्च अदालतले झगडिया झिकाएको छ । ३ असारमा सबै पक्षलाई छलफलमा बोलाएकाले यसको टुंगो लाग्नेछ । लोकसेवाले विज्ञापन खोलेपनि संसदीय समितिले संविधानविपरित भन्दै रोक्ने निर्देशन दियो । विषय अदालतमा पुगेपछि अब त्यहींबाट मुद्दाले किनारा पाउनेछ ।

विज्ञापन प्रकाशित भएपछि लाखौं युवाहरु तयारीमा लागिसकेका थिए । देशभरका ५ सय १५ स्थानीय तहका लागि जेठ १५ गते नौ हजार, एक सय ६१ सिटका लागि लोकसेवाले विज्ञापन गरेको थियो । यति ठूलो संख्यामा कर्मचारी भर्नाका लागि आवेदन आउँदा उत्साही युवा घटनाको राजनीतिकरणले निराश भएका छन् ।

विज्ञापनको विषयले विवाद बढाएको छ । राजनीतिक दलका नेताले आफ्ना मान्छेलाई करारमा नियुक्ति दिन खोजेको आरोप लागेको छ । सक्षमलाई भन्दा आफ्ना मान्छेलाई भर्ना लिन खोजेकोमा विरोधका स्वर बढेको छ ।



प्रतिक्रिया दिनुहोस्