Logo

सासुको पद जोगाउन देउवा ओलीप्रति नरम



काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको नेक्ससका कारण प्रमुख प्रतिपक्षी दल सदन र सडकमा कमजोर देखिएको छ । देउवाले ओलीको जमेर विरोध गर्न सकेका छैनन् ।

ओली सरकारले विवादास्पद विधेयकहरु ल्याउने देखि सत्ता केन्द्रिकृत गर्दै लगेको विषय उठेपनि देउवा सशक्त रुपमा प्रस्तुत हुन सकेका छैनन् । यसमा उनको केही व्यक्तिगत स्वार्थ रहेको खुल्दै गएको छ ।
देउवाकी सासु प्रतिभा राणा जापानका लागि राजदूत छिन् । उनलाई फिर्ता बोलाउनुपर्ने आवाज नेकपाभित्र उठ्दै आएको छ । तर, ओलीले रोकेका छन् । यसमा ओली र देउवाबीचको घनिष्ठ सम्बन्ध कारण बनेको छ ।

दुई तिहाईको कम्युनिष्ट सरकार बन्नुअघि नियुक्त भएका अधिकांश राजदूत फिर्ता बोलाइएका छन् । नेपाली काँग्रेसले सत्ता चलाउँदा काँग्रेस र राप्रपाको कोटामा राजदूत बनाइएकाहरु फिर्ता बोलाइएपनि प्रतिभा राणा जापानमै छिन् । उनी राप्रपाको कोटामा राजदूत बनाइएकी थिइन् ।

प्रतिभालाई फिर्ता नबोलाउन देउवाले लबिङ गरे । यसमा लेनदेन समेत गरे । केही राजनीतिक नियुक्तिमा पनि देउवाले भाग पाए । त्यसपछि देउवाले ओली सरकारको हरेक कदमको मौन समर्थन गरेजस्तै बसे । विरोध गरेपनि त्यसलाई मथ्थर पार्ने दिशामा बढे ।

ओली र देउवाबीचको कनेक्शनका कारण प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भूमिका सत्तापक्षकै जस्तो छ । ओलीको कदमको विरोध काँग्रेस नेताहरुभन्दा पहिले नेकपाका नेताहरुबाट सुनिन्छ । सुदुरपश्चिम गृहक्षेत्र भएका भीम रावल ओलीका कडा आलोचक भएका छन् देउवाभन्दा । अहिले ओलीको कडा विरोध गर्ने उनै रावल छन् ।

अहिले देउवा पारिवारिक मोहमा परेको गुनासो काँग्रेसको देउवा पक्षभित्र नै उठिरहेको छ । देउवाको ओलीसँगको नेक्ससका कारण सरकारका गलत कदममा समेत प्रमुख प्रतिपक्षी दल फितलो भएको छ ।



प्रतिक्रिया दिनुहोस्