काठमाडौं १८ असार । बाघको जुँगा उखेल्नेलाई बहादुर, हिम्मतवालालगायतका उपनाम दिने गरिएको छ ।
बर्दियामा भने मरेको बाघको जुँगा उखेल्नेले जरिवाना तिर्नु परेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा पक्राउ परेका गेरुवा–४, शान्तिपुर धकनियाका सुन्दरलाल चौधरीलाई मंगलबार ५ लाख जरिवाना तिराएको हो ।
बाघको जुँगा घरमा राख्नु गैरकानुनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो । बाघ मारेको प्रमाण फेला नपरेपछि जुँगा उखेलेको अभियोगमा जरिवाना तिराई अदालतले छाडेको छ । –कान्तिपुर दैनिकबाट