Logo

आगामी वर्ष जनताले देख्ने खालका काम हुने



काठमाडौं, २० असार । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताउनुभएको छ । पर्सा जिल्लाका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अगुवा कार्यकर्तासँगको भेटघाटमा उहाँले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको बताउनुभएको हो ।

सरकारले गर्छु भनेर प्रतिबद्धता जनाएको कामहरु पाँच वर्षभित्रै सम्पन्न हुने विश्वास दिलाउँदै मन्त्री पोखरेलले विकास र समृद्धिको जग यही सरकारका समयमा निर्माण हुने प्रतिबद्धता जनाउनुभयो । सरकारले घोषणा गरेका प्रतिबद्धता नबिर्सिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताले देख्ने र महसुस गर्ने काम आगामी वर्षमै हुनेछ ।”

विचारका मामिलामा पार्टीभित्र देखिएका विवाद वा छलफललाई कार्यकताले सामान्य मान्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री पोखरेलले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवै फरक पृष्ठभूमिबाट आएकाले केही फरक मत देखिन सक्ने बताउनुभयो । आगामी एक महीनाभित्रमा सङ्गठनात्मक सुधारका धेरै काम हुनेमा जोड दिँदै उहाँले भन्नुभयो, “कार्यकर्ता व्यवस्थापनका धेरे कामहरु यो एक महीनामा सम्पन्न हुनेछ ।”

राससका अनुसार उपप्रधानमन्त्री पोखरेसँग पार्टीका अगुवा कार्यकर्ताले पार्टीभित्र देखिएको आन्तरिक विवाद, सरकारको कामकारवाही, एकीकरणको बाँकी कामको अवस्थालगायत विषयमा जिज्ञासा राखेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्