काठमाडौ, २६ असार । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति एक शिशुको अपहरण भएको छ । प्रसूति वार्डबाटै १३ दिनका नवजात शिशुको अपहरण भएको हो । अपहरणमा भोक्राहा–१ की बबिता मेहताको १३ दिने छोराको तीन घण्टापछि उद्धार गरिएको हो ।
बबिता र उनका कुरुवा भजित रोशन निदाएको मौका छोपी दुईजना महिलाले १३ दिनको नवजात शिशुको अपहरण गरेका थिए। अपहरण भएको थाहा पाउन साथ प्रहरीमा खबर गरेपछि शिशुको उद्धार गरिएको थियो ।
नवजात शिशुको अपहरणमा संलग्न दुई महिलालाई समेत प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले बताए ।
अपहरणमा संलग्न धरान १५ माइती भई भारतको दिल्ली घर भएकी वर्ष २७ की लीला विक र उनकी भाउजू मीना लिम्बू विकलाई पक्राउ गरिएको उनले बताए।
डीएसपी न्यौपानेले अपहरणमा परेका नवजात शिशुलाई अपहरणकारीले भारतको दिल्ली लैजाने तयारी गरेको बताए । लीलाका सन्तान नभएका कारण आफूले छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण गरेको प्रहरीलाई बयान दिएकी छिन् ।