काठमाडौं, असार ३१ । कञ्चनपुर जिल्ला अदालतले अदालतको मान हानीमा माफी माग्न वा एक घण्टा कैद र एक रुपैँया जरिवानाको फैसला गरेपछि पत्रकार खेम भण्डारीले माफी नमाग्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले जिल्ला अदालतको निर्णय अन्यायी भएको बताए।
‘मैले मेरो पुनरावेदन गर्न पाउने अधिकार प्रयोग गर्नैपर्ने बाध्यत्मक अवस्था आयो,’ उनले लेखेका छन्, ‘बरू फाँसी भोग्छु, यस प्रकरणमा माफी माग्ने कुनै सम्भावना छैन।
जिन्दगी मेटाउन सक्छु तर मैले एक पटक अपलोड गरेको स्टाटस न कहिल्यै मेटेँ, न मेट्नेछु।’कञ्चनपुरको भीमदत्त नगरपालिका बस्ने १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको साउन १० गते एक वर्ष पुग्दैछ।
यसबीचमा नुसन्धाका क्रममा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुखदेखि जवान तथा अनुसन्धानका डिएसपीसम्म निलम्बनमा परेका छन्। उच्चस्तरीय छानबिन समितिसमेत गठन भएको यो हत्या प्रकरणको दोषी अझै पत्ता लाग्न सकेको छैन।