सरकारले यस वर्ष देशभरमा जम्मा २४३ सडक पुलको निर्माण सम्पन्न गरेको छ । गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ ।
यस वर्ष सरकारले ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिएको थियो । विभागका प्रवक्ता शिवहरि सापकोटाले महत्वाकांक्षी भएकाले मात्रै लक्ष्यमा नपुगिएको बताउनुभयो । एक सयको हाराहारीमा निर्माण हुने गरेकामा दुई सय नाघ्नु नै महत्वपूर्ण भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले जति निर्माण सम्पन्न भएको छ त्यसमा पनि खुशी हुनुपर्छ ।”
चालू आवको शुरुआतमा पुराना र नयाँ गरेर ९२५ सडक पुल निर्माणाधीन रहेको विभागले जनाएको छ । तीमध्ये निर्माणाधीन ६८२ पुल बजेट नभएकाले सम्पन्न भइनसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आगामी वर्षको बजेटबाट यी पुल निर्माणको काम अघि बढ्नेछ ।”
पछिल्लो पाँच वर्षमा एक वर्षमा एक सयभन्दा कम मात्रै पुल निर्माण सम्पन्न भएको तथ्याङ्कले देखाएको छ । आव २०७४÷७५ मा ८४ र आव २०७३÷७४ मा ७४ पुल निर्माण सम्पन्न भएको थियो । राससका अनुसार सरकारले यस वर्षको बजेटमा तुइन, फड्के र अस्थायी साँघु दुई वर्षभित्र पूर्णरूपले विस्थापित गर्न आगामी आवको बजेटमा रु दुई अर्ब ३८ करोड विनियोजन गरेको छ ।