एक लागुपदार्थ प्रयोगकर्तालाई ‘पेनगन’सहित आज सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिका–२४ कास्कीकोट स्थायी घर भई हाल वडा नं– ७ को मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाटबाट बरामद गरिएका सात थान गोलीसहित पेनगन र लागुपदार्थ आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ ।
पोखरामा पेनगनसहित पहिलोपटक एकजना पक्राउ परेका छन् । सामान्यतया कलम आकारको ‘पेनगन’ टुप्पोपट्टिको भाग लेख्न मिल्ने देखिने भए पनि सो भागमा गोली अड्काउने गरी राखिन्छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले रानाभाटले लागुपदार्थ सेवन, ओसारपसार र बिक्री वितरण तथा हतियारसमेत बोकी हिँड्ने गरेको सूचनाका आधारमा अनुसन्धानपश्चात निजको डेराको खानतलासी गर्दा लागुपदार्थसहित पेनगन बरामद गरिएको हो ।
उनको डेराबाट ६० थान फेनारगन, ६० थान ब्रुप्रिनर्फिन, ६० थान डाइजापाम, १५ चक्की नाइट्रोसन, १० थान राहदानी र सात थान नागरिकता बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।रासस